४५२ महिलाको स्वास्थ्य परीक्षण गर्दा १०२ जनाको पाठेघरमा संक्रमण

कञ्चन, चैत्र १९ । कञ्चनपुरको बेलौरीमा सोमबार महिलाको पाठेघर तथा स्तन क्यान्सरको निशुल्क चेकजाँच गरिएको छ । ४५२ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा १०२ जना महिलामा पाठेघरमा संक्रमण भएको पाइएको छ ।

क्यान्सरकै कारण मृत्यु भएकी माओवादी अध्यक्ष प्रचण्डकी छोरी ज्ञानु दाहाल र दिवंगत पति प्रकाश दाहालको स्मृीतमा कञ्चनपुर क्षेत्र नं १ का सांसद एवं खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको पहलमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा चार दिने निशुल्क स्वास्थ्य शिबिरको आयोजित गरिएको हो ।

क्रान्तिकारी महिला सञ्जाल बेलौरीको आयोजनामा सोमबार बेलौरीको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ५२ महिलाको चेकजाँच गरिएको छ । जस अन्तर्गत १ सय २ जनामा पाठेघरमा संक्रमण भएको, १२ जनामा पाठेघरको मुखमा मासु पलाएको, १७ जनामा आङ खस्ने समस्या देखिएको र ३ जनामा क्यान्सरको आशंका गरिएको छ भने १० जनामा क्यान्सर पूर्वको अवस्था देखिएको बताइएको छ ।

त्यस्तै, १२ जना महिलाहरुको स्तनमा क्यान्सर भएको आशंका गरिएको क्यान्सर रोकथाम विभागका प्रमुख किशोर प्रधानाङ्गले बताउनु भएको छ । विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका क्यान्सर रोकथाम विभागका प्रमुख किशोर प्रधानाङ्गको नेतृत्वमा ७ सदस्यीय टोली शिविरमा खटिएको छ ।

अभियान अन्तरगत महिलाहरुको पाठेघर र स्तनको क्यान्सरको विशेष जाँच संगै उपचारको प्रबन्ध गरिने जनाइएको छ । गाउँमै पहिलो पटक भएको स्वास्थ्य शिविरमा निशुल्क क्यान्सर जाँच गराउन पाउँदा स्थानीय महिलाहरु हर्षित भएका छन् । आइतबार पुनर्वास नगरपालिकामा सञ्चालित शिविरमा ७ सय भन्दा बढी महिलाहरुको चेकजाँच गरिएको थियो । मंगलबार बेल्डाँडीमा उक्त शिविर सञ्चालन गरिने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!