जर्मनीबाट पक्राउ परेका पूर्व क्याटलोनियाली नेता पुज्डमोनको रिहाइको माग गर्दै बर्लिनमा प्रदर्शन

बर्लिन, जर्मनी- स्पेनको क्याटलानियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख कार्ल्स पुज्डमोनको रिहाइको माग गर्दै आइतबार जर्मनीको राजधानी बर्लिनमा सयौँको सङ्ख्यामा समर्थकले प्रदर्शन गरेका छन्। उनलाई राज्य विद्रोह गरेको आरोपमा गत हप्ता जर्मनीबाट पक्राउ गरिएको थियो।

जर्मनीको राजधानी सहरमा पानी परिरहेको भए पनि प्रदर्शनकारी ब्रान्डेनवर्ग गेटबाट न्याय मन्त्रालयसम्म जुलुसमा सहभागी बनेका थिए। विरोध कार्यक्रमका सहभागीले ‘नेता पुज्डमोन र क्याटलान राजनीतिक बन्दी’को रिहाइका लागि अनुरोध गरेका थिए। ब्यानरमा स्पेनमा प्रजातन्त्र नभएको, आस्थाका आधारमा क्याटलोनियाली नेताहरूलाई बन्दी बनाइएको भन्ने भावका नारा लेखिएको थियो।

जुलुसका सहभागीले क्याटलोनियाको स्वतन्त्रताका लागि भन्दै निला, पहेँला र राता झण्डाहरू बोकेका थिए।

जर्मनीको प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति पुज्डमोनलाई गत आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले पक्राउ गरेको थियो। उनी क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन हुनु अगावै बेल्जियम पुगी स्वघोषित निर्वासनमा रहँदै आएका थिए।रासस/एएफपी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!