‘साइइनिङ बालुवा वासिङ सेन्टर’ मात्रै होइन सबै प्रकारका अवैध कामहरु तुरुन्त बन्द हुनुपर्छ : दिपेश पुन

काठमाडौं, चैत्र १८ । अखिल क्रान्तिकारीका नेता एवं उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले मेरो नाम जोडेर विभिन्न सञ्चार माध्यममा आएका भ्रामक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आइतबार पुनले जारी गरको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नागरिक दैनिकमा प्रकाशित ‘बागमतीमा अवैध वालुवा खानी, गृहमन्त्रीकै आडमा तस्करी’ भन्ने समाचारमा गोदावारी नगरपालिका–८, डुकुछाप ललितपरस्थित ‘साइनिङ बालुवा वासिङ सेन्टर’मा मेरो पनि लगानी छ भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त बालुवा खानीमा मेरो कुनै लगानी नभएको सबैमा स्पष्ट पार्दै भ्रमपूर्ण समाचारको खण्डन गर्दछु । साथै, उक्त बालुवा खानीमा मेरो लगानी छ भन्ने भ्रामक समाचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’

‘कुनै पनि अवैध काममा मेरो संलग्नता म आफै कल्पना गर्न सक्दिनँ । सबै प्रकारका अवैधानिक कामहरु बन्द हुनुपर्दछ । अवैध भनि समाचारमा आएको ‘साइनिङ बालुवा वासिङ सेन्टर’ मात्रै होइन सबै प्रकारका अवैध बालुवा खानी र अवैध कामहरुलाई सम्बन्धित निकायले तुरुन्त बन्द गराउनुपर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो आन्दोलन तथा सक्रियता खास गरी यस्तै सबै प्रकारका अवैध कामहरु बन्द हुनुपर्छ भन्ने नै रहेको बताउदै नाम जोडेर आउनु दुखद भएको पुनले बताए । ‘अवैध कामहरुलाई रोक्न मेरो जुन भूमिका हुनुपर्ने हो, त्यो भूमिकाका लागि म सदा सर्वदा तयार छु’ विज्ञप्ति भनिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!