द्वन्द्वमा सुरक्षा फौजले बेपत्ता पारेकाको शव खोतल्दै आफन्त, १४ वर्षपछि दाहसंस्कार

दैलेख, चैत्र १८ । माओवादी सशस्त्र द्वन्द्वको समयमा हत्या गरेर गाडिएका व्यक्तिका आफन्तले शव खोज्न थालेका छन् । उनीहरू गाडिएको सम्भावित ठाउँमा आफैँ उत्खनन गर्न थालेका हुन् ।

शनिबार दैलेखको महाबु गाउँपालिका–६ का ऐनबहादुर शाहीका आफन्तले शव उत्खनन गरेका छन् । द्वन्द्वको समयमा संयुक्त सुरक्षा फौजले पक्राउ गरेको थियो । बेपत्ता पारिएका उनका विषयमा कुनै जानकारी दिइएको थिएन । सुरक्षा फौजले मारेर शवसमेत दिएको थिएन । त्यसको १४ वर्षपछि आफन्तजनले शनिबार शव उत्खनन गरेका हुन् ।

काजकिरिया गर्न उत्खनन
वैदेशिक रोजगारीबाट फर्किएका दुई छोराले काजकिरिया गर्न शव उत्खनन गरेका हुन् । ऐनबहादुरकी आमा तुलसी शाहीले नातिलाई काजकिरिया गर्न बारम्बार आग्रह गर्न थालेपछि उत्खनन गरिएको हो । ‘बज्यैले जोड गर्नुभयो, त्यसैले उत्खनन गर्न बाध्य भयौँ,’ ऐनबहादुरका माइला छोरा बृखबहादुरले भने । शव उत्खननपछि शनिबार नै दाहसंस्कार पनि गरिएको छ ।

ऐनबहादुरको हत्यापछि परिवारको आर्थिक अवस्था नाजुक भएपछि विदेश जानुपरेको बृखबहादुरले बताए । यसअघि दैलेखकै नारायण नगरपालिका–३ का उदय रेग्मी र सुकुल सिंहको शव पनि आफन्तजनले उत्खनन गरेका थिए । दुवैलाई ०६२ मा सुरक्षा फौजले नियन्त्रणमा लिएर मारेको थियो । उनीहरूको शव आफन्तलाई नबुझाएर जंगलमा गाडिएको थियो । दैलेखमा राज्य र विद्रोही पक्षबाट हत्या गरेर शव नदिएकाहरूको संख्या तीन सयभन्दा बढी छ ।

यस्तो थियो घटना

१७ साउन ०६० मा दैलेखको धरमपोखराबाट ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको थियो । ११ लाई छाडेको थियो भने उनलाई चरम यातना दिएर हत्या गरेको थियो । त्यसपछि उनको शव धरमपोखरा जंगलमा गाडेको थियो ।

उनको हत्यापछि परिवार विस्थापित भएको थियो । गाउँमा बस्ने अवस्था नभएपछि तीनै छोराले गाउँ छाडेका थिए । उनीहरूमध्ये एक नेपाली सेनामै कार्यरत छन् भने दुई वैदेशिक रोजगारीमा गएका थिए । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!