लायन्स क्लबको छैटाै सम्मेलन सुरु

नेपालगन्ज / रास– लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बी–२ नेपालको छैटांै सम्मेलन शनिबार नेपालगन्जमा सुरु भएको छ । सो सम्मेलनको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेका थिए ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले लायन्सले सामाजिक क्षेत्रको अभियानको संगठन भन्दै गरेको समाज सेवाले हरेक मानिसलाई आत्मसन्तुष्टि दिने बताए । उनले विपत्तिको बेलामा लायन्सले आफ्नो पहिचानसहित सहयोगका हातहरू लिएर अगाडि आउने परम्परा र सामाजिक भावनाको सराहना गरे ।

मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ लाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने गरी काम भइरहेको बताए । उनले कृषि क्षेत्र र उत्पादनमुखी क्षेत्रलाई उच्च प्राथमिकता दिएर यो प्रदेशलाई उत्कृष्ट बनाउने सोच बनाइएको बताए ।

मुख्यमन्त्री पोखरेलले समाजमा फजुल खर्च गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘अबदेखि हामी सबैले फजुल खर्च गर्ने मानसिकता त्याग्नुपर्छ ।’ फजुल खर्च गरेर सान देखाउने काम नगर्न पनि उनले आग्रह गरे ।

मुख्यमन्त्री पोख्रेलले नेपाली जनतालाई आत्मविश्वास बढाउन आवश्यक रहेको बताउँदै त्यसका लागि राजनीतिक नेतृत्व र कर्मचारी, प्रशासन एकसाथ भए मात्र अघि बढ्न सकिने पनि बताए । लायन्स कन्भेन्सनमा लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बी–२ का गर्भनर मधुसूदन शर्माले लायन्स क्लबले नेतृत्व विकासका साथसाथै समाजसेवामा उदाहरणीय काम गरेको बताए । उनले आफ्नो कार्यकालमा भएका प्रगतिको विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा लायन्सवादको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने पूर्वडिस्ट्रिक गर्भनर सेम शाक्य, डिके ढुंगाना, घनश्याम भट्टराईलगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!