पाँचथरमा यो वर्ष १२ ओटा झोलुंगेपुल निर्माण हुने

पाँचथर, पुस २७ । चालू आर्थिक वर्ष ०७४/७५ मा पाँचथरमा १२ ओटा झोलुंगेपुल निर्माण हुने भएका छन् । क्षेत्रगत कार्यक्रमअन्तर्गतको साझेदारी संस्था सिरिजंगा ग्रामीण विकास केन्द्रमार्फत् पुल निर्माण गर्न लागिएको हो ।

पाँचथरको साविक नांगिन गाविसको सिम्भुवा खोला, फाल्गुनन्द गाउँपालिकाको निबुवा खोला र याङवरकको फलँचा–च्याङथापु जोडिने जौबारी झोलुंगेपुल निर्माण भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

कार्यालयका इन्जिनियर प्रेम काफ्लेकाअनुसार हाङगुम–दुर्दिम्बा जोडिने नावाखोलामा मेचिटारे पुल, नांगिन–लुङरुपा जोडिने सिम्भुवाखोलामा साठीमुढे पुल, मेमेङ–प्राङबुङ जोडिने हेंवाखोलामा खोलाटार पुल, सराङडाँडाको साँवासिरखोला पुल पनि यसै वर्ष बनाइनेछ ।

त्यसैगरी, लुङरुपाको फेमेखोला पुल, आङसराङको निबुवाखोलामा चुवाडे पुल, सिदिनको रिग्युवाखोलामा चन्डे पुल, कुरुम्बाको कुरुम्बाखोलामा कुरुम्बा पुल, फाक्तेपको चङुजिवाखोला पुल पनि यसै वर्ष निर्माण हुनेछन् ।

यी सबै पुल निर्माणको कुल लागत ४ करोड ११ लाख ९३६ रुपैयाँ रहेको छ । कुल लागतको तीन/तीन प्रतिशत गाउँपालिका र जिल्ला समन्वय समिति तथा दुई प्रतिशत उपभोक्ता समितिले व्यहोर्नेछन् ।

त्यसैगरी, बाँकी ९२ प्रतिशत क्षेत्रगत कार्यक्रमको लगानी रहने साझेदारी संस्था सिरिजंगा ग्रामीण विकास केन्द्रअन्तर्गत् झोलुंगेपुल निर्माणका कार्यक्रम संयोजक दीपक बोहराले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: