पूर्व जनमुक्तिसेना सुनिलकुमार जेल चलान

विराटनगर, पुस २६ । यति बेला शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दश वर्षे जनयुद्धका क्रममा नेपाली सेनाले तत्कालिन जनमुक्ति सेनाका एक जवानलाई पक्राउ गरी कारबाही गरेको छ ।

सशस्त्र युद्धको बेला नेपाली सेनाबाट विद्रोह गरेर हतियारसहित माओवादी सेनामा प्रवेश गरेका मोरङ ग्रामथान गाउँ पालिकाका सुनिककुमार भगतलाई नेपाली सेनाले सैनिक ऐन अन्तर्गत पक्राउ गरी कारागार चलान गरेको हो ।

भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा मोरङ प्रहरीले घरबाटै गिरफ्तार गरेर सार्वजनिक अपराधको मुद्दामा कारवाही गरिपछि प्रहरीले भगतलाई नेपाली सेनाको जिम्मा लगाएको थियो ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले नेत्रविक्रम चन्द विप्लव समर्थित कार्यकर्ताहरुबाट चुनाव विथोल्ने काम भइरहेको बेला पक्राउ गरेको र पछि नेपाली सेनाले थाहा पाएर पत्र पठाएपछि आफुले सेनालाई बुझाएको बताए ।

उनले भने, ‘नेपाली सेनाले आफ्नो भगौडा पक्राउ परेको जानकारीमा आएकोले कारवाहीका लागि बुझाउन भनेपछि सार्वजनिक अपराधमा कारवाही टुंगिएपछि सेनालाई बुझाएका हौं, द्वन्दकालिन मुद्दामा कारवाही गर्न भनेर पठाएको होइन ।’

भोजपुरको बिष्णुदल गणमा सैनिक जवान पदमा कार्यरत रहेको बेला भगत दुई थान राइफल, त्यसमा लाग्ने ५ थान म्याग्जीन र ९ सय थान गोलीसहित २०६२ साल साउन ८ गते तात्कालिन माओवादी सेनामा प्रवेश गरेका थिए ।

सम्बन्धित् समाचार  सरकारी प्रतिवद्धतासँगै चिकित्सक संघकाे आन्दोलन फिर्ता

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नेपाली सेनाको भगौडा सिपाहीको रुपमा भगतलाई कारवाही गरिएको बताए । उनले भने, ‘भगत हाम्रो सदस्य भएको र हतियारसहित भागेकोले कोट मार्सल गरेर कारवाही गरेका हौं, त्यसलाई शान्ति सम्झौतासँग जोडनु हुँदैन ।’

भगत पक्राउको विषयलाई माओवादी केन्द्रले शान्ति सम्झौता विपरितको कार्य भनेको छ । समाचार दैनिकसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले भनिन्, ‘द्वन्द्वकालिन हरेक प्रकारका मुद्दा हेर्ने सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हो, अहिले शान्ति प्रकृयालाई प्रभावित गर्ने गरी कसैले पनि गतिविधि गर्नु उचित हुँदैन ।’

उनले भगतमाथि भएको कारवाहीको विषयमा पार्टीमा छलफल गरी धारणा सार्वजनिक गर्ने बताइन् । भगतलाई कोर्ट अफ इन्क्वाइरी गरी कारागार व्यवस्थापन विभाग जगन्नाथ देवलमा राखिएको छ । समाचारदैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: