किन विद्यार्थीहरुको ध्यान दीक्षान्तप्रति आकर्षित हुन सकेन ?

काठमाडौँ, पुस १७ । त्रिभुवन विश्वविद्यालबाट वर्षेनी ६० हजारभन्दा बढीले उच्च शिक्षा हासिल गरेपनि दीक्षान्तमा मुस्किलले १२ प्रतिशतमात्रै सहभागी हुने गरेका छन् । दीक्षित प्रमाणपत्र लिन र गाउन लगाएर फोटो खिच्नमात्रै सीमित विद्यार्थी सहभागी हुने गरेका छन् ।

२०७३ असार २ देखि २०७४ जेठ १७ सम्म त्रिविका ६० आंगिक र एक हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नात्तकोर, एमफिल र विद्यावारिधी तह उत्तीर्ण गरेका ६८ हजार २ सय ९२ मध्ये ८ हजार २ सय ६७ दीक्षित समारोहमा सहभागी भएको उपकुलपति तीर्थराज खनियाँले जानकारी दिए । उत्तीर्ण भएकामध्ये १२.१० प्रतिशतमात्रै दीक्षान्तमा सहभागी भएका छन् ।

यसवर्ष मात्रै होइन, गतवर्ष पनि ८३ हजार विद्यार्थी उत्तीर्ण भए पनि दीक्षान्तमा ९ हजार ७ सय ३४ अर्थात् ११.६६ प्रतिशत विद्यार्थीमात्रै सहभागी थिए । विश्वविद्यालयको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट हरेक वर्ष उच्च शिक्षा हासिल गर्नेको संख्याको सरदर ११ प्रतिशत उपस्थित हुँदा पनि उपकुलपति प्रा. तीर्थराज खनियाँले विद्यार्थीको आकर्षण बढिरहेको दाबी गरे । ‘यस कार्यक्रममा दीक्षित हुन योग्य विद्यार्थीहरुको संख्याले विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको पुष्टि गर्दछ,’ खनियाँले भने, ‘त्रिवि संसारका विभिन्न राष्ट्रका विद्यार्थीहरु तथा अनुसन्धानकर्ताहरुको आकर्षणको केन्द्र पनि भएको छ । यो हाम्रो गर्वको विषय हो ।’ ३ सयभन्दा बढी विदेशी विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरु त्रिविअन्तर्गतका विभिन्न क्याम्पसमा अनुसन्धानमा संलग्न रहेको उनले बताए ।

सम्बन्धित् समाचार  त्रिभुवन विश्वविद्यालयमा १४२० नयाँ दरबन्दी थपिने

उपकुलपतिले विश्वविद्यालयको गुनगान गाइरहँदा विद्यार्थी भने दीक्षित प्रमाणपत्र लिन लाइनमा पुगिसकेका थिए । दीक्षान्त कार्यक्रममा दीक्षितहरुलाई प्रधानमन्त्री वा अन्यले प्रमाणपत्र दिइने व्यवस्था छैन । अन्य विश्वविद्यालयमा संकायअनुसार फरक दिनमा दीक्षान्त मनाउने गरिन्छ । उपकुलपतिले हरेकलाई प्रमाणपत्र दिइन्छ । त्रिविमा धेरै विद्यार्थी भएपछि नाम समेत उच्चारण गरिँदैन । अन्य विश्वविद्यालयमा अभिभावकलाई समेत बोलाउने गर्छन् । चिया खाजाको समेत व्यवस्था गरेको हुन्छ । त्रिविको दीक्षित विद्यार्थीले आफू दीक्षित प्रमाणपत्र लिन पनि घण्टौ लाइन बसेर लिनु पर्ने बाध्यता छ । विद्यावारिधी गरेका विद्यार्थीलाई मात्रै प्रमाणपत्र बाँडिन्छ । यसले पनि दीक्षान्तको आकर्षण घटेको विद्यार्थीहरुको गुनासो छ ।

विदेशको अधुरो पढाई स्वदेशमा

त्रिविले विदेशमा अध्ययन पूरा नगरी फर्केका विद्यार्थीलाई लक्षित गरेर क्रेडिट ट्रान्सफरको व्यवस्था गर्ने भएको छ । ‘विदेशमा अध्ययन गर्न गई अध्ययन पूरा नगरी स्वदेश फर्कने र स्वदेशमा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका हितका लागि क्रेडिट ट्रान्सफरको व्यवस्था गरिने भएको छ,’ उपकुलपति खनियाँले भने, ‘नेपालभित्र र बाहिरका विश्वविद्यालयहरुसँग त्रिविमा क्रेडिट ट्रान्सफरको व्यवस्था गर्न प्राविधिक समिति गरेर प्रतिवेदन समेत बनिसकेको छ ।’

सम्बन्धित् समाचार  कम विद्यार्थी भएका विषय समायोजन गर्दै त्रिवि

आइतबारको ४३ औ दीक्षान्तमा निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको थियो । आठ हजार विद्यार्थी, उनका अभिभावक र प्राध्यापकलाई कुराएर कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अरु कार्यक्रममा ब्यस्त थिए । दीक्षान्त समारोहका प्रमुख अतिथि जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा।एम।जगदीश कुमार थिए । सेताम्मे फुलेको कपाल, पातलो शरीर भएका उनी चप्पल लगाएर कार्यक्रमस्थल पुगेका थिए । जेएनयूमा भर्ना हुन धेरै प्रतिस्पर्धा गर्नु पर्ने उनले बताए । ‘हजारौं नेपाली विद्यार्थी भारतका विश्वविद्यालयमा वर्षेनी अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘जेएनयूमा मात्रै एक सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।’ जेएनयू र त्रिविबीच सहकार्य गर्न केही वर्षअघि नै सम्झौता भइसकेको उनले बताए । त्रिविले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरे ।

एकै जनालाई तीन पदक

त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका प्रसन्नकुमार तामाङले तीनवटा पदक पाएका छन् । ९२.५० प्रतिशत ल्याएका उनले चान्सलर पदक, विश्वविद्यालयबाट स्नात्तकोत्तर तहमा सर्वोत्कृष्टलाई प्रदान गरिने प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पाएका हुन् ।

त्यस्तै पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्रमा एमए गरेका रोशन कर्माचार्यले पनि तीनवटा पदक पाएका छन् । ७४ प्रतिशत ल्याएका उनले खगेन्द्रमान सिं प्रधान पदक, चन्द्रराज ढुङगेल स्मृति पुरस्कार र तारापद चौधरी पदक पाएका हुन् । जैविक प्रविधि केन्द्रीय विभागबाट एमएस्सी गरेकी गौरी थापाले डा। रेखा र लक्षमैया श्रीराम पदक पाइन् । रसायनशास्त्र केन्द्रीय विभागबाट एसस्सी गरेका टोपप्रसाद काप्रीले अृमत पदक र पिएम सिंह पदक पाए ।

सम्बन्धित् समाचार  अब २८ वर्ष पुगे स्ववियू चुनावमा उम्मेद्वार हुन नपाउने

पद्मकन्या बहुमुखी क्याम्पसबाट गृह विज्ञानमा एमए गरेकी डीनिता आङदेम्बेले मालती तिमल्सिना पदक पाइन् । गणितमा एमएड गरेका प्रेमप्रसाद दाहालले हिमांशु दाहाल स्मृति नगद पुरस्कार पाए । क्याम्पियन कलेजबाट समाजशास्त्रमा एमए गरेकी रुपाश्री निरौलाले सुमन रिजाल पदक पाएइन् । शंकरदेवबाट एमबीएस गरेका गायत्री कार्कीले रामकृष्ण न्हुच्छे प्रदान पुरस्कार र नेपाल बैक सरदार गुञ्जमान सिं स्वर्ण पदक पाइन् । यो पदक वीरेन्द्र बहुमुखी क्याम्पसका पोष्टराज निरौलाले समेत पाएका छन् । नरेन्द्रमणि आचार्य दीक्षित पदक काठमाडौं मोडल कलेजका प्रमिता श्रेष्ठले पाएकी छिन् ।

६२ जनाद्वारा पीएचडी

त्रिविका अनुसार यसवर्ष मानविकीका ३६, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट सात जना, शिक्षाशास्त्र स‌ंकायबाट तीनजना, व्यवस्थापनबाट तीन, चिकित्सा शास्त्रबाट दुईजना, कृषि र पशु विज्ञानमा नौ जना, वन विज्ञानमा दुई जनाले पीएचडी गरेका छन् ।

कान्तिपुरबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: