चीनले भन्यो- परिबर्तनका लागि प्रचण्डको नेतृत्वदायी भूमिकाप्रति उत्साहित छौं

बेइजिङ । विश्वशक्तिमान बन्ने दाउमा रहेको उत्तरी छिमेकी चीनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उच्च प्रंशसा गरेको छ । चीनले नेपाली राजनीतिको पछिल्लो परिर्वतनका लागि प्रचण्डले खेलेको नेतृत्वदायी भूमिकाबाट आफू निकै प्रभावित भएको बताएको छ ।

गत महिना सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनमा विश्वभरिबाट आएको शुभकामनामध्ये सबैभन्दा गहन, मार्मिक र महत्वपूर्ण शुभकामना सन्देश माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भएको उसले बताएको छ । साथै चीनले माओवादी केन्द्र सबै भन्दा नजिकको मित्र भएको पनि स्पष्ट पारेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका छ सय पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्रलाई पहिलो नम्बरमा राखेको जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा आएका माओवादी केन्द्रका प्रतिनिधिहरूसँगको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका दक्षिण एसिया व्युरो प्रमुख युआन चिपिंगले विश्वभरीका पार्टीमध्ये माओवादी केन्द्र सबैभन्दा नजिक रहेको बताएका हुन् ।

नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संविधान निर्माण र शान्ति प्रक्रियाकालागि खेलेको भूमिकाबाट आफूहरु प्रभावित भएको भन्दै माओवादी केन्द्रसँगको सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने उनले बताए ।

अन्य पार्टीहरू भन्दा माओवादी केन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीलार्इ नजिकबाट बुझेको आफूहरूको ठहर रहेको समेत उनले बताए ।
नेतृत्व चयनका बारेमा बताउँदै उनले चीनले ४० वर्षअगाडिबाट सुरू गरेको सुधारको कार्यक्रम राष्ट्रपति सी जिनपिङको विगत पाँच वर्षको कार्यकालमा धेरै पूरा भएको बताए । बाँकी काम पूरा गर्न चिनियाँ राष्ट्रिय कंग्रेसले सीलार्इ नै राष्ट्रपतिमा दोहोर्याएको उनको भनार्इ थियो ।

चीनले अगाडि सारेको ‘वान वेल्ट वान रोड’ योजनाबाट नेपाललगायत अन्य मुलुकहरू लाभान्वित हुनसक्ने उनले बताए । छलफलका क्रममा उनले प्रचण्ड नेतृत्वको सरकारले यसलार्इ आत्मसाथ गर्दै सम्झौता गरेको भन्दै सोको समेत प्रशंशा गरे ।

उनले सन् २०३५ मा चीनलार्इ सम्पन्न मुलुक बनाउने योजनामा आफूहरू रहेको बताए । साथै, चिनियाँ समाजको अन्तरविरोध बदलिएको र चीन नयाँ युगमा प्रवेश गरेको महाधिवेशनको ठहर रहेको उनले बताए ।

त्यस्तै, अव पर्यावरणीय सुरक्षामा केन्द्रित हुने र चिनियाँ विशेषतासहितको समाजवादमा प्रवेश गर्ने निर्णय महाधिवेशनले गरेको उनको भनार्इ थियो ।

विश्वमा समाजवाद कसरी अगाडि बढाउने र त्यसमा चीनको भूमिका के हुने भन्ने विषयमा छलफल भएको नेपाली टोलीसँग बताए ।

भेटमा नेपाली प्रतिनिधिको नेतृत्व गर्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा विदेश विभाग सचिव युवराज चौलागार्इंले नेपालको राजनीतिक परिस्थितिको बारेमा धारणा राखेका थिए ।

चीनबाट नेपाली माओवादीले धेरै कुरा सिकेको भन्दै उनले नेपालमा समाजवाद लागू गर्ने दिशामा आफूहरू अगाडि बढेको बताए । चीन असल छिमेकी भएको भन्दै चौलागार्इंले माओवादी केन्द्र एक चीन नीतिमा अडिग रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!