अष्टमी गुरुङको आत्महत्या छानबिनको माग गर्दै दूतावासलाई ज्ञापनपत्र

युएई, मंसिर १३ । नेपाली जन प्रगतिशिल मञ्च युएई अबुधाबी क्षेत्रीय समितिले अष्टमी गुरुङको आत्महत्याबारे छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन माग गर्दै नेपाली दूतावास अबुधाबीलाई ज्ञापनपत्र बुझाएको छ ।

वैदेशिक रोजगारीका लागि काठमाडौंको प्यारामाउन्ट म्यानपावर प्रालिबाट युएईको अबुधाबीस्थित एक प्रतिष्ठित कम्पनीमा काम गर्न आएकी गोरखा २ आरुघाटकी गुरुङले नोभेम्बर ४ तारिखका दिन कम्पनीको होस्टेलमा आत्महत्या गरेकी थिइन ।

हत्या भएको केही समयपछि विभिन्न सञ्चारमाध्यम मार्फत अष्टमी गुरुङले मोबाइलमा रेकर्ड गरेको भिडियो बाहिरिएको थियो । उक्त भिडियोमा अस्टमीले आफूमाथि बलात्कार भएपछि बाध्य भएर आत्महत्या गर्नु परेको उल्लेख गरिएको छ ।

यता मञ्च युएई अबुधाबीले घटना बाहिरिएसँगैं तत्काल घटनाको छानबिन गरि दोषीलार्इ कारबाही दिलाउन आवश्यक कानुनी पहल गरिदिन नेपाली दूतावास अबुधाबी कार्यबाहक राजदुत कृष्ण अर्यालसँग माग गर्दै मन्चका अध्यक्ष दिपक न्यौपानेसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै अर्यालले घटनाले सबैलाई अत्यन्तै दुखी बनाएको भन्दै दूतावास मार्फत घटनाबारे छानबिन गर्न आवश्यक पहल भै रहेको र केही दिनमै सत्यतथ्य बाहिर आउने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्