शीर्षस्थलाई ‘स्विङ भोटर’ ले हैरानी

इलाम,मंसिर १३ । इलाममा कसले चुनाव जित्ला ? कुनै बेला छानाका झन्डा गने मोटामोटी अनुमान आउँथ्यो। प्रतिबद्ध वाम र लोकतान्त्रिक मतदाताको बाहुल्य रहेको यो जिल्लामा हाल उदाएका चलायमान नयाँ पुस्ता दलहरूका लागि साझा टाउको दुखाइ बन्न पुगेका छन्। २०४८ यता एकपल्ट झिनो अन्तरले बाहेक सधैं जित्दै आएका एमाले उम्मेदवार झलनाथ खनाल र २०५६ यता एकछत्र चलाउँदै आएका सुवास नेम्बाङका अघिल्तिर बदलिँदै गएका स्थानीयको मनोभाव चुनावी सफलताका चुनौती ठानिएको छ।

संघ र प्रदेश चुनावका लागि मिश्रित चिह्नमा मतदान हुन सक्ने डर एमाले-कांग्रेसलाई छ। अनि कतिपय युवाले भर्खरै खुलेका वैकल्पिक पार्टीलाई समानुपातिकतर्फ मतदान गर्ने भनी खुलेरै व्यक्त गर्ने विचारहरू उनीहरूको प्रचार अभियानमा असर पुर्‍याउन सफल देखिन्छन्। ‘नयाँ पुस्ताका भाइबहिनीहरू नयाँनयाँ पार्टीतिर आकर्षित देखिन्छन्, प्रत्यक्षमा बलियो उम्मेदवार नभएकाले समानुपातिकमा भए पनि भोट हाल्ने तिनको विचार खुलस्त भन्छन्’, शान्तिपुरका महेश लेप्चा भन्छन्, ‘पुरानै अनुहार कत्ति हेरिरहने भन्ने तिनीहरूलाई परेको देखिन्छ।’

केन्द्रमा प्रभावशाली, तर जिल्ला ‘उपेक्षित’

पूर्वप्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष खनालसँग एमाले पार्टी निर्माण, जनआन्दोलन सफलताको लागि निर्णायक भूमिका, शान्ति प्रक्रियामा सहजीकरणको जस छ। एमाले संसदीय दलका उपनेता नेम्बाङलाई जनआन्दोलन २०६२ को केन्द्रीय परिचालन समितिमा रहेको, संविधानसभा अध्यक्षका रूपमा संविधान निर्माणको नेतृत्व गरेको ख्याति छ।

यिनै विरासतका कारण आजपर्यन्त राष्ट्रिय राजनीतिमा प्रभावशाली यिनलाई स्थानीय क्षेत्रको विकासमा उल्लेख्य भूमिका खेल्न नसकेको आरोप बराबरी लाग्दै आएको छ। उनीहरूका प्रतिस्पर्धी उम्मेदवारले यही ‘कमजोरी’ लाई जोडतोडका साथ चुनाव प्रचारक्रममा उठाइरहेका छन्। खनालविरुद्ध कांग्रेसका उम्मेदवार भूपेन्द्र कट्टेल भन्छन्, ‘प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो जिम्मेवार पदमा पुगेर पनि उहाँले जिल्लाको विकासलाई उपेक्षा गर्नुभयो, अब म संसद्मा गएर पूरा गर्छु।’

खनाल भने विपक्षीको यो आरोप सरासर प्रतिवाद गर्छन्। यसबीच जनताका आकांक्षामा पर्याप्त बदलाव आएको स्विकारे पनि उनले जिल्लाको विकासलाई लिएर जनतामा कुनै असन्तुष्टि नरहेको दाबी गरे। ‘इलाममा पूर्वाधार विकास, शिक्षा, स्वास्थलगायत क्षेत्रमा हामीले जे गरेका छौं जनता सन्तुष्ट छन्। मलाई चाहिएजस्तै जनता पाएको छु, जनताले उनीहरूलाई चाहिएजस्तो नेता पाएका छन्,’ खनालले भने, ‘त्यसैले जनताको माया पटक-पटक मैलाई छ। यो रहिरहन्छ।’

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई वाम गठबन्धनको पुट हुँदा हुँदै पनि विगतका निरन्तर जितका बीच जिल्लालाई उपेक्षा गरेको आरोप लागिरहेको छ।

यता संविधान निर्माण आफ्नो नेतृत्वमा सफल भएको भन्दै संविधानसभा अध्यक्ष नेम्बाङ अब त्यसको सफल कार्यान्वयनमा फेरि सघाउन आग्रह गर्र्दैछन्। ‘संविधानको सफल कार्यान्वयन र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनको नेतृत्व चाहिएको छ,’ पूर्वसभामुख नेम्बाङले मतदातासामु भने, ‘राष्ट्रियता र विकास दुवैको ग्यारेन्टी वाम नेतृत्वबाट मात्रै सम्भव छ। त्यसकारण भोट हामीलाई।’

उनले नयाँ पार्टी र अनुहार देखापरे पनि जनताको विगतदेखिको विश्वासलाई तिनले फरक नपर्ने, उल्टै वाम गठबन्धनका कारण दोहोरो अन्तरको जित सुनिश्चित हुने दाबी गरे। नेम्बाङले यसो भन्दै गर्दा उनका कांग्रेस प्रतिस्पर्धी केशव थापा आफूलाई विकासप्रेमी उम्मेदवारका रूपमा अघि सार्दैछन्। इलामे जनताले परिवर्तन चाहेको भन्दै उनले सधैं एउटै प्रयोग काम नलाग्ने तर्क दिए। ‘पूर्वपश्चिम राजमार्गदेखि एक किमि उत्तर आउँदा दक्षिणी इलाम दुर्गम र अँध्यारो छ, त्यसैले जनताको सुख र विकासका लागि अब हामीलाई भोट,’ उनले भने, ‘जनताले नेम्बाङबाट सपना मात्र पाए विकास पाएनन्, नेम्बाङकै कारण सुकिलुम्बा विमानस्थल, कोल्डस्टोर, गैंडे महमाई सडक अलपत्र भएका हुन्।’ उनले स्विङ भोटरहरूको संख्या बढ्दै गए पनि मुख्य प्रतिस्पर्धा एमालेसँगै हुने प्रस्ट्याए।

विकास भएन, विकास भयो

नेम्बाङले भने इलामको दुर्गम भेगमा आफ्नो एक्लो प्रयासबाट पूर्वाधार निर्माणमा छलाङ मारेको दाबी गरेका छन्। उनले २०५६ सालमा उम्मेदवार बन्दा क्षेत्रमा विद्युत्को एउटा बल्ब पनि नझुन्डिएको, एक किलोमिटर राम्रो बाटो नभएको, पक्की पुल नभएको र एक लाइन टेलिफोनसमेत नभएको भन्दै आफ्नो नेतृत्वपछिका परिवर्तन हेर्न चुनौती दिए। ‘मैले चुनाव जित्नुअघि कांग्रेसकै नेतृत्व थियो, त्यसबेला केही भएन,’ उनले भने, ‘यो बीचमा भएका परिवर्तनका लागि हामीले उचित मूल्यांकन पाउनुपर्छ। बाँकी पहलहरू भइरहेका छन्, त्यसका लागि हाम्रो प्रयास जारी छ।’

नेम्बाङले यसो भन्दाभन्दै पनि थापाले पक्की सडक, बिजुली, सञ्चार, शिक्षा, स्वास्थलगायत क्षेत्रमा नेम्बाङले केही नगरेको दाबी गर्दै आफूलाई एकपल्ट जिताएर हेर्न मतदातासामु बिन्ती गरे। पहिलो संविधानसभा चुनावमा थापा नेम्बाङसँग ३७ सय भोटले पराजित रहे। दोस्रो चुनावमा थापा क्षेत्र ३ जाँदै गर्दा अर्का उम्मेदवार भेषराज आचार्यले मतान्तर खुम्च्याएर १२ सयमा झारे। तीन क्षेत्रमध्ये नयाँ संरचनामा थपिएका गाउँपालिका र नगरपालिकाका कारण अब कांग्रेस पहिलेभन्दा सुविधाजनक ढंगले जित्नेमा ढुक्क छ।

खनाललाई पनि यत्तिकै सुख कहाँ छ र ! सिमानाका समस्या बारेमा चासो नदिएको, पशुपतिनगरमा अध्यागमन बनाउने आश्वासन पूरा नगरेको, गाउँको सडक बनाउने आश्वासन पूरा नगरेकोजस्ता स्थानीयको आक्रोश खेप्दै हिँडेका छन्, उनी। सूर्योदय नगरपालिका ११ माघेका नरेन्द्र भट्टराईले भने, ‘ घरमै आएर बाटो बनाइदिन्छु, सुख सुविधा दिन्छु भन्नुभएको थियो, तर काम भएन।’

पुरानो संरचनाको क्षेत्रका असन्तुष्टि झेल्दै हिँडेका यी शीर्षस्थ नेताहरूलाई स्थानीय तह पुनः संरचनापछि थपिएको माबु, प्याङ, नयाँबजारलगायत नयाँ गाउँले भने उत्साह थपिदिएका छन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाल नयाँ क्षेत्रमा आएसँगै पार्टी प्रवेश तीव्र भएको छ। उनले भने, ‘नयाँ क्षेत्रमा त बेग्लै खालको उत्साह देखिएको छ।’

खनालसँग प्रतिप्रर्धामा रहेका कांग्रेसका भुपेन्द्र कट्टेललाई मतदाताले नचिनेको कारण पनि खनालले सहजै बाजी मार्ने कतिपयको अनुमान छ। तर पूर्वइलाममा लामो समयदेखि स्थानीय उम्मेदवारको माग रहेकाले कट्टेल त्यस क्षेत्रका दह्रो प्रतिस्पर्धी रहेको कांग्रेस नेता बेनुपराज प्रसाईंको विश्लेषण छ। प्रसार्इंले खनाललाई प्रतिनिधिसभा निर्वाचनमा पराजित गरेका थिए। उनले भने ‘कट्टेललाई जिताउन क्षेत्र नं १ का सबै कांग्रेस र मतदाता लागेका छन्, त्यसैले उनी दह्रा प्रतिप्रर्धी हुन्।’

स्थानीय चुनावको अनुभव

स्थानीय तहको निर्वाचनपछि भने कांग्रेस निक्कै कमजोर देखिएको छ। पछिल्लो समयमा थपिएको सहित इलामको निर्वाचन क्षेत्र १ मा एक लाख एक हजार ६२ मतदाता छन्। स्थानीय तह निर्वाचनमा उक्त क्षेत्रबाट एमालेले ३२ हजार एक सय ९७ मत प्राप्त गरेको थियो भने कांग्रेसले २४ हजार सात सय ६५ मत प्राप्त गरेको थियो। कांग्रेसले एमालेसँग भिड्दा पनि अहिलेको अवस्थामा सात हजार चार सय ३२ मत क्षतिपूर्ति गराउनुपर्र्नेछ। वाम एकताको कारण थपिएको चार हजार दुई सय ९० को कारण इलामको निर्वाचन क्षेत्र १ मा खनाल अहिले पनि ११ हजार सात सय २२ मतले अघि देखिएका छन्।

नेम्बाङ र थापा चुनावी मैदानमा रहेको क्षेत्र २ मा पनि स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसबीच ठूलै मतान्तर देखिएको छ। अहिले एक लाख दुई हजार नौ सय ८४ मतदाता रहेको सो क्षेत्रमा स्थानीय तह निर्वाचनमा एमालेले २९ हजार सात सय नौ र कांग्रेसले बागी उठेको उम्मेदवार सहितको मत जोड्दा २७ हजार आठ सय २४ मत प्राप्त गरेको थियो। यो क्षेत्रमा एमाले एक हजार आठ सय ८५ मतले अघि देखिन्छ।

वाम गठबन्धनको मत एमालेमा आएमा अरू चार हजार चार सय ८० मत एमालेको पोल्टोमा पर्नेछ। स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सानातिना पार्टी परिवर्तनले एमालको वर्चस्वलाई यसपटक कसैले चिर्न नसक्ने कतिपयको अनुमान छ। यद्यपि संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष देवेन्द्र राई र लिम्बूवानको जिल्ला नेतृत्व कांग्रेसमा प्रवेश गरेकाले जिल्लाभर कांग्रेसको प्रभाव कम नहुने फोरमका निवर्तमान सहसचिव राजकुमार राई बताउँछन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!