देशको मुहार फेर्न वाम गठबन्धनलाई मतदान गर्नुस् : अध्यक्ष ओली

भण्डारीले देखेका सपना पूरा गर्न चाहेको : अनिल शर्मा

काठमाडौं, मंसिर १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको मुहार फेर्न र देशलाई विकासको नयाँ उचाइमा लैजाने योजना भएको बाम गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले मंगलबार आयोजना गरेको चुनावी सभामा उनले देश र जनताको विकास गर्ने उम्मेदवार छान्ने इतिहास निर्वाचन भएकाले सही उम्मेदवारलाई मत दिन आग्रह गरे ।

ओली भने, “देशको भविष्यलाई कता लाने भन्ने ऐतिहासिक निर्वाचन हो यो, यसलाई ख्याल ठट्टाका रुपमा नलिऊँ, यसले देशको भविष्य निर्धारण गर्छ, अब विकास गर्ने पार्टीलाई मतदान गर्नुस् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनवी तालमेल एमाले र माओवादीबीच भएको उल्लेख गर्दै एउटै पार्टी बनाउने सङ्कल्पका साथ दुई पार्टी अगाडि बढेको छ भने ।

नेकपा एमालेका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवकुमार नेपालले स्थायी सरकार र देशको विकासका लागि कम्युनिष्ट सरकार जरुरी भएको बताउँदै देशलाई समस्या परेको अवस्थामा कम्युनिष्टहरुको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

उनले नयाँ नेपालको परिकल्पना गरेर त्यसको योजनासमेत बनाएको वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्नसमेत आग्रह गरे ।

नेकपा माओवादीका नेता एवं मन्त्री जनार्दन शर्माले कम्युनिष्ट सरकारको पालामा देशमा लोडसेसिडको अन्त्य गरी जनतालाई राहत प्रदान गरेजस्तै धेरै भौतिक पूर्वाधारको विकासका लागिसमेत वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

 

उनले वाम गठबन्धनका उम्मेदवारमा देश विकासका प्रस्ट योजना भएको हुँदा उनीहरुलाई मतदान गर्न आग्रह गरे ।

वाम गठबन्धनबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल शर्माले भ्रष्टाचार नगरी यहाँको विकासमा ध्यान दिने र त्यसका लागि आफूले बजेट छुट्याएर पठाउने विश्वास व्यक्त गर्दै आफू जननेता मदन भण्डारीले नेतृत्व गरेको भूमिमा उभिएर भण्डारीले देखेका सपना पूरा गर्न चाहेको हुँदा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

उनले वृद्धाको सारथी, यहाँका इतिहास धरोहर र भौतिक पूर्वाधारको विकास निर्माण गर्न आफूसँग स्पष्ट योजना भएको हुँदा भारी मतले विजयी गराउन आग्रह गरे ।

प्रदेशसभा सदस्य (क) का उम्मेदवार विष्णुकमारी भुसाल र प्रदेशसभा सदस्य (ख)का उम्मेदवार गणेशप्रसाद दुलालले यहाँको विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न आग्रह गरे ।

सभामा गीतसंगीतसमेत प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!