दाङमा शक्तिशाली विष्फोट, म्यादी प्रहरीसहित आठ घाइते

दाङ, मंसिर १२ । तुलसीपुर उपमहानगरपालिका–५ ‘घ’ लाइनको डिलाइट कर्नर नजिक मंगलबार साँझ अज्ञात समूहले गराएको बम विस्फोट म्यादी प्रहरी सहित आठ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा ५ सय मिटर नजिकैको अरनीको मैदानमा आयोजित सभालाई सम्बोधन गर्न जाँदै गर्दा बम विस्फोट भएको थियो ।

घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरीसहित स्थानीय देवी डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाईली रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ ।

घाइते डिसीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाईतेहरुको अञ्चल अस्पताल तुलसीपुरमै उपचार भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।

घटनापछि अहिले तुलसीपुरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान गरी बम विस्फोट गराउने समूहको खोजी भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकाी दिए ।

पछिल्लो समय उम्मेदवार र चुनावी सभालाई लक्षित गरी देशका विभिन्न स्थानमा विष्फोटन भइरहेका छन । गएराती र मंगलबार विहानमात्रै नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको घरमा र एमालेका चर्चित नेता लालबाबु पण्डितलाई लक्षित गरी विष्फोटन गारइएको थियो ।

अहिलेसम्म यी कुनैपनि विष्फोटनको कुनैपनि पार्टी वा समूहले औपचारिक रुपमा जिम्मेवारी लिएको छैन । तर सरकार सुरक्षा निकायले चुनाव खारेजीको माग गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति शंका गर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!