महरालार्इ जिताउन दाङ झरे अनन्त

सोनाम प्यूठान, सिजल पाल्पा जाने

लिबाङ, मंसिर १२ । प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ दाङ गएका छन ।

उनी माओवादी केन्द्रका अर्को प्रभावशाली नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरालगायत वामगठबन्धनका उम्मेदवारलाई जिताउन मंगलबार विहान दाङ झरेका हुन् ।

रोल्पाबाट वामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका अनन्त निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचनका वामगठबन्धनका उम्मेदवारलाई जिताउन लागेका छन् । उनी माओवादी केन्द्रका प्रदेश नं। ५ का ईन्चार्जसमेत हुन् ।

अनन्तलाई जिताउन महरा दुईपटक रोल्पा पुगेका थिए । माओवादी केन्द्रका वरिष्ठ नेताहरु महरा र अनन्त राजनीतिक र शैक्षिक रुपमा गुरु चेला हुन् । ‘मेरो शैक्षिक गुरुमात्रै होइन, राजनीतिक गुरु पनि हो महरा सर’, अनन्तले भनेका छन् । महराले रोल्पामा अनन्तले जित्दा आफ्नो पनि जित हुने बताएका थिए ।

अनन्तसँगै निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि दाङ झरेकी छिन् । उनी माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यकी समानुपातिक उम्मेदवार हुन् । उनले दाङमा महरालगायत वामगठबन्धनका उम्मेदवारलाई भोट माग्नेछिन् ।

सोनाम प्यूठान, सिजल पाल्पा जाने

रोल्पाबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेताहरु दोस्रो चरणको निर्वाचनमा गठबन्धनलाई सहयोग गर्न प्रदेशका अन्यत्र जिल्ला जाने भएका छन् । माओवादी केन्द्रका कार्यालय सदस्य एवम् क्षेत्र नं। १ का प्रदेशसभा सदस्य उम्मेदवार कुलप्रसाद केसी ‘सोनाम’ प्यूठान जाने भएका छन् । सचिवालय सदस्य एवम् क्षेत्र नं। २ का प्रदेशसभा सदस्य उम्मेदवार दिपेन्द्र पुन ‘सिजल’ पाल्पा जाने भएका छन् । उनी पाल्पाका पूर्व ईन्चार्ज पनि हुन् ।

यसैगरी समानुपातिक उम्मेदवारहरु सिता आचार्य, हरीसरा घर्तीमगर दाङ जाने भएका छन् । अर्का समानुपातिक उम्मेदवार कर्मलाल परियार प्यूठान जाने भएका छन् । माओवादी केन्द्र रोल्पाका नेता तथा कार्यकर्ताहरु रोल्पाबाट दाङ जाने भएका छन् । रोल्पाटुडेबाट

कमेन्ट गर्नुहोस्