चितवनमा सुरक्षा व्यवस्था कडाः गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ३९ जना पक्राउ

भरतपुर, मंसिर १२ । चितवनमा निर्वाचन विरोधी गतिविधि र गुन्डागर्दी गर्ने ३९ जनालाई प्रहरीले पक्राउ गरेकोछ । निर्वाचनकेन्द्रित सुरक्षा योजना लागू भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका २० जना र गुन्डागर्दीमा संलग्न १९ जना छन्।

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण जिल्लामा सुरक्षाको अवस्था मजबुत रहेको चितवन प्रहरीले जनाएको छ ।

चितवनमा पछिल्लो समय कालिका नगरपालिका, खैरहनी र वीरेन्द्रनगरको खाली जमिनमा तीन वटा सिलिन्डर विस्फोट गराइएको छ। सो कार्यमा संलग्न केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला सुरक्षा समितिले जिल्लाका ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक–फरक सुरक्षा योजना बनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!