नेतृ सू चीलाई दिइएको सम्मान फिर्ता

काठमाडौं, मंसिर १२ । म्यानमारकी नेतृ आङ सान सू चीलाई दिइएको ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको छ।

सन् १९६० को दशकमा उनले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन्।स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंज्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको आरोप लगाएका छन्।

उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन्।

अक्सफर्डबाट हटाइयो नेतृ सू चीको तस्वीर
यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सू चीको तस्वीर कलेजबाट हटाइसकेको छ।

संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंज्यामाथि गरेको व्यवहारलाई ‘पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ भन्दै आएको छ। तर सू चीले त्यो अस्वीकार गर्दै आएकी छन्।

गत अगष्ट महिनायता ६ लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरु म्यानमारबाट भागेर बंगलादेश पुगेका छन्। पछिल्लो समय कतिपयले सू चीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन्।

गत सेप्टेम्बरमा एउटा सम्बोधनका क्रममा उनले मानवअधिकार उल्लंघनको निन्दा गरे पनि देशको सेनामाथि कुनै आरोप लगाइनन् र ‘जातीय सफाया’ भइरहेको आरोपबारे पनि केही बोलिनन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!