आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटः नेपालद्वारा हङकङलाई जितका लागि ९५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, मङ्सिर ११ । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो स्थानको लागि भएको प्ले अफमा नेपालले हङकङलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । नेपालले दिएको ९५ रनको लक्ष्यसहित हङकङले केही बेरमा जवाफी ब्याटिङ्ग थाल्ने छ ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ९४ रन बनायो । खराब सुरुवात गरेको नेपालले ओपनर सिता राना मगर ३ तथा ज्योति पाण्डे २ रनमा गुमाएको थियो । तर, क्रिजमा टिकेर खेलेकी नेरी थापाले ३८ रन जोड्दै नेपालको पारी उकासेकी थिइन् ।

यस्तै कप्तान रुविना क्षेत्री १५ तथा करुणा भण्डारी १४ रनमा अविजित रहिन् । त्यसबाहेक नेपालकी काजोल श्रेष्ठ १२ रन बनाएर पेभेलियन फर्किदा रिता कुमारी कनौजिया पनि २ रनमा आउट भईन् । हङकङकी मारीको हिल र मारिनाले समान दुई दुई विकेट लिदा चार्लोटे चानले एक विकेट लिए ।

थाइल्याण्डमा जारी एसिया छनोटबाट ग्लोबल छनोटमा पुग्न असफल नेपालले तेस्रो स्थानको लागि भएको प्ले अफमा हङकङसँग प्रतिस्पर्धा गरिरहेको हो । राउण्ड रोबिनको आधारमा जारी एसिया छनोटमा नेपाल तेस्रो स्थानमा रहदै तेस्रो स्थानको लागि हुने प्ले अफ छनोट भएको हो ।

यस्तै हङकङ चौथो स्थानमा रहदै नेपालसँग प्ले अफ खेल्न लागेको हो । नेपाल र हङकङबीचको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ । यसअघि समूह चरणको खेलमा नेपाल र हङकङले बर्षाको कारण खेल अवरुद्द हुँदा एक एक अंक बाडेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!