माअाेवादी केन्द्रका नेता दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा जुट्दै

काठमाडौं, मंसिर ११ ।  पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै माओवादी केन्द्रका सबै शीर्ष नेता दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा केन्द्रित हुने भएका छन् ।

दोस्रो चरणको निर्वाचन २१ मंसिरमा हुँदै छ । माओवादीले पहिलो चरणमा निर्वाचन भएका जिल्लाका उम्मेदवार कहाँ–कहाँ खटिने भन्ने विषयमा निर्णय नगरेको नेता शक्तिबहादुर बस्नेतले बताए । पहिलो चरणमा उम्मेदवार भएका नेता बस्नेत, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्णबहादुर महरालगायत नेता दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारमा खटिने भएका छन् ।

जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार रहेका बस्नेतले प्रदेश नम्बर ५ र ६ मा पर्ने जिल्लाका चुनावी कार्यक्रममा आफू केन्द्रित हुने बताए ।

‘मेरो निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘आगामी दिनमा निर्वाचन प्रचारप्रसारमा स्थानीय पार्टी नेता कार्यकर्तासँग सल्लाह गरेर कार्यतालिका बनाई खटिन्छु ।’

रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका वर्षमान पुन ललितपुरका विभिन्न चुनावी कार्यक्रममा सरिक हुने भएका छन् । पुनले दाङ, ललितपुर र काठमाडौँका विभिन्न चुनावी सभालाई सम्बोेधन गर्नेछन् ।

उनी ललितपुरको महांकाल गाउँपालिकाको गोटीखेलमा १५ मंसिर र १६ गते कोन्ज्योसोम गाउँपालिकाको भारदेउमा हुने चुनावी सभामा सरिक हुनेछन् ।

पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका जनार्दन शर्माले काठमाडौँका विभिन्न चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् ।

१२ मंसिरमा नयाँ बानेश्वरमा हुने चुुनावी सभालाई प्रचण्डसहित केपी ओली, जनार्दन शर्मालगायत नेताले सम्बोधन गर्ने काठमाडौं १ का उम्मेदवार अनिल शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्