कहाँ कति मत खस्यो ? जम्मा ६५ प्रतिशत मतदान

आइतबार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्य चयनका लागि पहिलो चरणमा मतदान भएको हो । बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि चिसो मौसमका कारण हिमाली क्षेत्रमा केही ढिलो गरी मात्र मतदान कार्य प्रारम्भ भएको थियो । थोरै मात्र मतदाता रहेका केन्द्रमा पनि कर्मचारीले आयोगले तोकेको साँझ ५ बजेसम्म मतदाता कुरेर बसेका थिए ।

सिन्धुपाल्चोक, रुकुम, भोजपुर, दार्चुला र बाजुराका केही मतदान केन्द्रमा झडप भए पनि मतदान कार्य शान्तिपूर्ण रूपमा नै सम्पन्न भएको आयोगले जनाएको छ । मतदानस्थलमा वृद्धवद्धा, सुत्केरी र युवाको लामो पंक्ति उपस्थित देखिन्थ्यो ।

यसअघि तीन चरणमा सम्पन्न स्थानीय तह चुनावमा ७३ प्रतिशत मत खसेको थियो । २०७० को दोस्रो संविधानसभामा ७० प्रतिशत, ०६४ को संविधानसभा निर्वाचनमा ६१ दशमलव सात प्रतिशत, ०५६ सालको निर्वाचनमा ६५ दशमलव आठ र ०५१ को निर्वाचनमा ६१ दशमलव आठ र ०४८ सालको निर्वाचनमा ६५ दशमलव १४ प्रतिशत मत खसेको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उत्साजनक रूपमा मतदान सम्पन्न भएको जनाउँदै संविधान कार्यान्वयनलाई पूर्णता दिन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मतदाताको व्यापक सहभागिताबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘स्थानीय तहमा टोल छिमेकका नेता छान्न ७० प्रतिशतभन्दा माथि मत खसेको थियो । यो राष्ट्रिय चुनाव भएकाले पनि मत कम खसेको हो ।’

आइतबार साँझ आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘छिटफुट घटनाबाहेक उत्साहजनक रूपमा मतदान भएको छ । आयोग अब दोस्रो चरणको मतदान गराउने प्रक्रियामा छ ।’हिमाली जिल्लामा जाडो सुरु, मतदाता सहर पस्नु तथा पश्चिमी जिल्लाका मतदाता विदेशिएका कारण मत प्रतिशत घटेको आयोगको जनाएको छ ।संघीयता कार्यान्वयनका लागि जनताले उत्साहजनक रूपमा मतदानमा सहभागी भएको पूर्व्निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ बताउँछन् ।

मतगणना दोस्रो चरणपछि
उनी भन्छन्, ‘जाडो मौसमका कारण हिमाली जिल्लामा मत कम खसेको हो । समग्रमा हेर्दा मत प्रतिशतको परिणाम राम्रो हो ।’पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रुकुम (पूर्वी भाग), रुकुम (पश्चिम भाग), रोल्पा, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी गरी ३२ जिल्लामा मतदान भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको जानकारी दिए । समानुपातिकतर्फ ५४ र प्रत्यक्षतर्फ ३४ दल चुनावी प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ साँढे चार सय उम्मेदवार चुनावी मैदान थिए ।निर्वाचनका लागि प्रत्यक्षतर्फ दुई अलग–अलग र समानुपातिकतर्फ एउटै गरी तीन खाले मतपत्रको प्रयोग गरिएको छ । मतपत्र छरितो भएकाले स्थानीय तहमा भन्दा बदर मत कम हुने आयोगले विश्वास लिएको छ ।

दुई मतदान केन्द्रको स्थागित
आयोगका अनुसार रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएकाले मतदान कार्य स्थगित भएको छ

स्थगित भएका मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतले छिट्टै पुनः मतदानको व्यवस्था मिलाउने छन् ।रुकुम पश्चिमको बाँफिकोट ५ स्थित रत्न आधारभूत विद्यालय केन्द्रमा रहेको एउटा मतपेटिका र आठबीसकोट ११ स्थित नेपाल राष्ट्रिय मावि केन्द्रको एक मतपेटिकामा आगजनी भएको छ ।

आठबीसकोटमा घटनालगत्तै कांग्रेसका उम्मेदवारका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँफिकोटको रत्न आधारभूत विद्यालयको मतपेटिकामा भने मतदाताले एसिड हालेको आशंका गरिएको छ । उक्त मतपेटिकामा दुई सय ५० मत खसेको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले मतदान प्रक्रियाको अनुगमन गर्दा रोल्पा, रुकुम, बझाङ, भोजपुर, नुवाकोट, गोरखालगायत जिल्लामा बम विस्फोटका केही घटना भए पनि मानवीय क्षति नभएको जनाएको छ । ताप्लेजुङ, धादिङ, बागलुङ, दार्चुलालगायत जिल्लास्थित केही मतदान स्थल नजिकै विस्फोटक पदार्थ भेटिएको, बाजुरा, दोलखा, जाजरकोट, ओखलढुंगा र सिन्धुपाल्चोकमा दलका कार्यकर्ताबीच झडप हुँदा केही घाइते भएको आयोगले जनाएको छ ।

दोलखा, बाजुरा र सिन्धुपाल्चोक जिल्लामा झडप नियन्त्रण गर्न सुरक्षाकर्मीद्वारा हवाई फायरसमेत भएको थियो ।छिटफुट घटना, चिसो मौसम तथा भौगोलिक विकटताका बाबजुद मतदाता मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेको आयोगले अनुगमनका क्रममा पाएको जनाएको छ ।

सोलुखुम्बुको तिङलाका बासिन्दाले स्थानीय तहको निर्वाचनमा जसरी नै यस निर्वाचनलाई पनि बहिष्कार गरेका छन् । क्षेत्र निर्धारण गर्दा स्थानीय जनतालाई अपायक परेको जनाइएको छ ।टेलिफोन र सञ्चारका अन्य उपकरणको पहुँच नुहँदा छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्र सम्पर्क्विहीन भएका हुन् ।

डोल्पामा ४० प्रतिशत बढी मतदान भएको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।लमजुङको मध्यनेपाल नगरपालिकास्थित कुशुमाकर मावि ‘ख’ का मतदान अधिकृत कुमारनाथ न्यौपानेलाई बर्खास्त गरिएको छ । सहायक मतदान अधिकृत सुमन थापामगरलाई मतदान अधिकृतको जिम्मा दिइएको थियो ।निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र मतदातालाई दिएपछि विवाद भएको थियो । विवादका कारण साढे एक घन्टा मतदान स्थगित भएको थियो । हस्ताक्षर नभएका मतपत्र मान्य नहुने निर्णय भएको छ ।

गणना दोस्रो चरणपछि
मंसिर २१ को दोस्रो चरण चुनावपछि मतगणना सुरु गरिने छ । पहिलो चरणको निर्वाचनका मतपेटिका ११ दिन सुरक्षाकर्मीको जिम्मामा राखिनेछन् । मतदान सकिएलगत्तै सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने काम सुुरु भइसकेको छ । संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा राखिने छ ।

दुई चरणमा निर्वाचन भएको २०५६ सालको आमनिर्वाचनमा पनि मतपेटिकलाई यसरी नै सुरक्षित तवरले राखिएको आयोग प्रवक्ता ढकालले जानकारी दिए । ०७० सालको संविधानसभा निर्वाचनमा मतपेटिका साटेर धाँधली भएको आरोप लगाउँदै एमाओवादी मतगणनास्थलबाट बाहिरिएको थियो । अन्नपूर्ण पोष्टमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!