बेलडाँडीमा वाम गठबन्धनद्वारा दक्षिणी क्षेत्रको प्रतिवद्धतापत्र सार्वजनिक

बेलडाँडी, मंसिर १० । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रलाई समेटेर वाम गठबन्धनले तयार पारेको प्रतिवद्धतापत्र आईतबार बेलडाँडी गाउँपालिकाको वैवाहमा सार्वजनिक गरिएको छ ।

वाम गठबन्धनबाट प्रदेशसभा र प्रतिनिधिसभामा रहेका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको सहभागितामा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको १ नम्बर प्रदेशसभा क्षेत्रका संयुक्त निर्वाचन परिचालन समितिका सदस्य भुवन एसकेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार कुलबिर चौधरी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रबाट प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार जीवलाल चौधरी र एमालेबाट प्रदेशसभा समानुपातिक उम्मेदवार कमला चौधरीको समेत सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेशसभा क्षेत्रको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक पल्लबराज भट्टले प्रतिवद्धतापत्र वाचन गरेर सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धतापत्रमा सीमा समस्याको स्थायी समाधान र सुरक्षाको प्रत्याभूति, प्रभावकारी सडक सञ्जाल, औद्योगिक विकास र दक्षिणी क्षेत्रमा भन्सार नाकाको विकास, प्राविधिक र सामुदायिक शिक्षामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवा, गरीब र विपन्न समुदायका लागि विशेष कार्यक्रम, पर्यटन विकास, सीमसार क्षेत्रको व्यवस्थापन, कृषिको व्यवसायिकीकरण, स्मार्ट सिटीको विकास, नदी कटान नियन्त्रण, आरक्ष विस्थापितको समस्या समाधान, जंगली जनावरको आतंक नियन्त्रण लगायतका विषय समेटिएका छन् । बिना मगर प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा १ मा तारालामा तामाङ र २ मा कुलबिर चौधरी उम्मेदवार रहेको क्षेत्रका विषयवस्तुलाई समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बोल्दै निर्वाचन परिचालन समिति संयोजक पल्लबराज भट्टले प्रतिवद्धतापत्र र पार्टी हरेर भोट दिन सबैलाई आव्हान गरे । ‘वाम गठबन्धनका उम्मेदवारसँग विकासको खाका र प्रतिवद्धता छ,’ उनले भने, ‘बिना मगरलाई भोट हाले केपी शर्मा ओली अथवा प्रचण्डलाई प्रधानमन्त्री बन्ने छन् ।’ प्रदेशसभामा समेत वाम गठबन्धनका उम्मेदवारलाई भोट दिएर वामपन्थीको सरकार बनाउन उनले सबैलाई आग्रह गरे । १ नम्बर निर्वाचन क्षेत्रका सबै स्थानीय तहमा वामपन्थीको सरकार रहेको बताउँदै उनले प्रदेश र केन्द्रसँग समन्वय गरेर क्षेत्रको विकास गर्न वामपन्थीले जित्नु आवश्यक रहेको बताए ।

नेकपा एमाले र माओवादी केन्द्रले तालमेल र पार्टी एकता गर्न खोज्दा केही तिक्तता देखिएपनि देशको आवश्यकता र समृद्धिको सपना पूरा गर्न सबै बिर्सिनुपर्ने बताए । ‘स्थानीय तह निर्वाचनमा म आफैं माओवादीका उम्मेदवारसँग पराजित भएको हुँ । मलाई माओवादीले हराएका हुन्,’ उनले भने, ‘देशमा राजनीतिक स्थिरता र समृद्धिको सपना पूरा गर्न २ प्रमुख वामपन्थी दल मिल्दा मेरो पराजयलाई मैले बिर्सिदिए ।’ स्थानीय तह निर्वाचनमा वामपन्थीको दुईतिहाई बहुमत रहेकाले आसन्न निर्वाचनमा समेत वामपन्थीले दुईतिहाई बहुमत ल्याउन दावी गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वाम गठबन्धनका नेता ईश्वरीदत्त भट्टले देशमा स्थायी सरकारको लागि वामपन्थी दललाई जिताउनुपर्ने बताए । कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार जीवलाल चौधरीले प्रतिनिधिसभा उम्मेदवार बिना मगरलाई दुःख परेकाले घरदैलोमा सहभागी हुन नसकेपनि आफ्नै चेलीबेटी सम्झेर सहयोग गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा राप्रपाका स्थानीय नेता टेकबहादुर रोकाया पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । एमाले नेता अक्कल विष्टले सञ्चालन गरेको कार्यक्रममा माओवादी नेता मोहन गिरी लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्