वाम गठबन्धनलार्इ मत दिएर पछुताउनु पर्दैन : नेपाल

अब एउटै कम्युनिष्टले नै देश बनाउने हो : लीलामणि पोख्रेल

काठमाडौ मंसिर ९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाई मतदान गरेर जनता पछुताउनु नपर्ने बताएका छन ।

काठमाडौँ क्षेत्र नं २ को थलीमा शनिबार वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आयोजना गरेको क्षेत्रीय चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि एमाले र नेकपा माओवादी केन्द्र सरकारमा छँदा जनताको पक्षमा भरमज्दुर काम गरेको बताउँदै भने, ‘‘अबको निर्वाचनमा पनि जनताले हामीलाई बहुमत दिएर जनताको पक्षमा काम गर्ने अवसर दिनुहुन्छ भन्ने विश्वास छ । हामीलाई मत दिएर कसैले पछुताउनु पर्दैन ।’’

‘‘मेरै निर्वाचन क्षेत्रमा काँग्रेसले कम्युनिष्टले अधिनायकवाद ल्याउँछ भनेर दुष्प्रचार गरेको छ’’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘‘तर हामी त्यसो गर्दैनौँ । वामगठबन्धनले बहुमत ल्याउने डरले काँग्रेसले भ्रम फैलाएको हो ।’’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले वाम गठबन्धन मुलुकको स्थिरताका लागि बनेको जिकिर गर्दै भने, ‘‘देशमा एउटै कम्युनिष्ट दलको आवश्यता रहेको थियो । अहिले ढिलै भए पनि ठूला कम्युनिष्ट दल बुद्धि फिरेर एक हुन थालेका छन् । अब एउटै कम्युनिष्टले नै देश बनाउने हो ।’’

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य अग्नि खरेल, वाम गठबन्धनतर्फबाट क्षेत्र नं २ प्रदेशसभा ‘क’का उम्मेदवार सानुकुमार श्रेष्ठ र ‘ख’का उम्मेदवार मणिराज फुयाँलले वामगठबन्धन मुलुकको विकासका लागि बनेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!