भोली ३२ जिल्लामा सवारीसाधन चलाउन नपाइने

काठमाडौं, मंसिर ९ । प्रतिनिभि र प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आइतबार (भोली) सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

निर्वाचन आयोगले मंसिर १० गते मतदान हुने ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन रोक लगाएपछि उक्त क्षेत्रमा भएर चल्ने निजी र सार्वजनिक सवारी प्रभावित हुने भएको हो ।

आयोगको यस्तो निर्णयसँगै बाहिरी जिल्लाबाट राजधानीसम्म आउजाउ गर्नेे पृथ्वी राजमार्ग र अरनिको राजमार्गमा सवारीसाधन प्रभावित हुने भएका छन् ।

पृथ्वी राजमार्गको केही भाग धादिङ र गोरखामा पर्छ । त्यहाँ भोलि मतदान हुँदैछ । त्यसैगरी, अरनिको राजमार्गसमेत भोलि प्रभावित हुनेछ । त्यस्तै विपी राजमार्ग भएर रामेछाप, ओखलढुंगा जाने सवारी समेत प्रभावित हुने छन ।

उक्त क्षेत्रमा सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्वाध रुपमा चल्न पाउने छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल सञ्चालनमा पनि निर्वाचनले कुनै बाधा पार्ने छैन ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ । भोलि ३२ जिल्लामा मतदान हुँदैछ भने २१ गते ४५ जिल्लाको चुनाव गर्ने कार्यतालिका छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!