बेलडाँडीमा कांग्रेसका वडा सभापति वाम गठबन्धन जिताउने अभियानमा

महेन्द्रनगर, मंसिर ८। कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत नेपाली कांग्रेस बेलडाँडी गाउँपालिकाको ३ नम्बर वडाका सभापति महेन्द्र विष्ट वाम गठबन्धनका उम्मेदवार जिताउने अभियानमा आवद्ध भएका छन् ।

महेन्द्रनगरमा शुक्रबार भएको आमसभामा विष्ट सहितका कांग्रेसका कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् । कांग्रेसका वडा सचिव कविराज गिरी समेत वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

कांग्रेसका उम्मेदवारले कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रको विकास गर्न नसक्ने भएकाले वाम गठबन्धनप्रति आशा गर्दै वाम उम्मेदवार जिताउन अभियानमा लागेको वडा सभापति विष्टले बताएका छन् । महेन्द्रनगरमा भएको वाम गठबन्धनको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा ‘वादल’ले टिका लगाएर कांग्रेसका नेता कार्यकर्तालाई वाम गठबन्धनमा प्रवेश गराएका हुन् ।

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको प्रभावशाली क्षेत्र मानिएको बेलडाँडीमा एकपछि अर्को गर्दै कांग्रेसका स्थानीय नेता कार्यकर्ता वाम गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लागेका छन् । केही हप्ताअघि कांग्रेसका स्थानीय प्रभावशाली नेता ईश्वरीदत्त भट्ट बिना मगर जिताउन माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!