महिला क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

काठमाडौं, मंसिर ८ । आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगितामा नेपालले मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको छ।

शुक्रबार थाइल्यण्डमा भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै उक्त सफलता हात पारेको हो ।

टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रनमै सिमित भएको थियो ।

नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।

उत्कृष्ट ब्याटिङ गरेकी सीता ४२ बलमा ३ चौकाको सहयोगले ३७ रन बनाउँदै दुर्भाग्यपूर्ण रुपमा मास इल्यासाको थ्रोमा रन आउट हुन पुगिन्। नेपालले २ विकेट छिटो गुमायो। पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भए। रोमा थापा पनि ६ रन बनाएर आउट भइन्।

काजोल श्रेष्ठ १४ रन बनाएर आउट भइन्। इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहे।

जितसँगै ४ अंक जोडेको नेपाल अंक तालिकको चौथो स्थानमा उक्लिएको छ।

अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!