स्व.प्रकाश दाहाल र खुशीराम पाख्रिनलाई सदा–सदाको अलबिदा !

काठमाडौं, मङ्सिर ८ । एउटा कलाकारलाई गीत गाउँदा गाउँदैको क्षणमा मृत्युवरण गर्न पाउनु निश्चय नै अरुखाले मृत्युभन्दा स्वीकार्य हुन्छ होला, तर मृत्यु यस्तो विषय हो जसलाई सहजै स्वीकार्न सकिँदैन । जन्मपछि मृत्यु अनिवार्य छ, तर मानिस जीवनभर मृत्युलाई छल्ने भ्रममा बाँचिरहन्छ । शाश्वत कुरा परिवर्तन हुँदैन ।

जन्मपछि मृत्यु शाश्वत कुरा हो । यदि मृत्युलाई रोक्न सकिँदो हो त संसारमा आज धेरै महान व्यक्तिहरु हामीबीच रहिरहेका हुनेथिए, तर यस्तो हुनै सक्दैन । त्यसैले कसको मृत्यु कसरी भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

मृत्यु आफैँमा अप्रिय विषय भएपनि कहिलेकाहीँ कसैको मृत्युलाई स्वाभाविक मान्नुपर्ने रहेछ । कहिलेकाहीँ कसैको मृत्युलाई गौरवको विषय मान्नुपर्ने रहेछ । हो, यस्तै गौरवपूर्ण मृत्यु अँगालेका छन् जनताका गायक खुसीराम पाख्रिनले ।

संयुक्त वाम गठबन्धनको आयोजनामा मंगलबार भरतपुरमा भइरहेको चुनावी सभामा गीत गाएका पाख्रिनको जीवन त्यो सभा नसकिँदै सकियो । जुन मञ्चमा उनले केहीबेर अघि गीत गाए, त्यही मञ्चबाट उनको निधनको सूचना सार्वजनिक भयो ।

हृदयाघातबाट कात्तिक तीन गते अकस्मात सबैलाई स्तब्ध पार्दै संसार छाडेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्ररत्न प्रकाश दाहालको श्रद्धाञ्जलि सभामा गीत गाएका जनगायक पाख्रिनको मृत्यु पनि हृदयाघातबाटै भयो । दुई मृत्युबीचको यो अप्रिय संयोग थियो ।

२००९ साल कात्तिक नौ गते गोरखाको खरिबोट सिस्नेमा जन्मेका पाख्रिनले २०७४ साल मंसिर ६ गते भरतपुरमा अन्तिम श्वास छाडे । उनको शरीर हामीबाट टाढा भएपनि उनका कालजयी गीतहरुले उनी सधैँ अमर रहनेछन् ।

अलविदा जनगायक खुसीराम पाख्रिन !

मृत्युकै चर्चा गरिरहँदा अर्को असामयिक मृत्युका बारेमा लेख्न हात चल्नै मान्दैन । ३६ वर्षको युवा वयमा अकस्मात अकल्पनीय तरिकाले जो कसैको मृत्यु भएपनि त्यसलाई सहजै स्वीकार्न गाह्रो पर्छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्ररत्न प्रकाश दाहालको मृत्यु यस्तै अविश्वसनीय बन्यो ।

२०३८ साल असार १७ गते यो धर्तीमा पाइला टेकेका प्रकाशले २०७४ साल मंसिर ३ गते सबैलाई रुवाएर धर्तीबाट बिदा भए । उनको अकल्पनीय मृत्यु उनका बाबु प्रचण्ड र आमा सीतामात्र नभई आफन्त, शुभचिन्तक र समस्त देशवासीका लागि पीडाको खबर बन्यो ।

चितवनमात्र होइन, देश नै स्तब्ध भयो । शाश्वत मृत्युलाई स्वीकार्नुको विकल्प छैन । कात्तिक २६ गते तिमीले मङ्गलपुरमा बदाम खुवाएको सदा स्मरणमा रहनेछ ।

अलविदा प्रकाश दाहाल !

कमेन्ट गर्नुहोस्

error: Content is protected !!