यूरोपको अर्थतन्त्रमा ‘सुधार’को संकेत : सर्वेक्षण

बेल्जियम, मंसिर ८ । यूरोपमा यो नोभेम्बरमा व्यापारिक गतिविधिमा व्यापक वृद्धि भएको एक महत्वपूर्ण सर्वेक्षणको बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

विगत १७ वर्षलाई हेर्दा यस वर्ष यहाँको रोजगारीका अवसर सिर्जना दरमा एकदमै छिटो रफ्तारमा सुधार देखिएको र यसले यूरोप क्षेत्रको अर्थतन्त्रलाई ह्वात्तै बढाएको अध्ययनले देखाएको छ ।

विश्लेषकहरू भन्छन्, ‘तथ्यांक अनुगमनकारी निकाय आइएचएस मार्किटले गरेको सर्वेक्षण प्रतिवेदनअनुसार यूरोपको अर्थतन्त्रले बेलायतको यूरोपबाट हुने बहिर्गमनलाई सामना गर्नसक्ने तथा अर्थतन्त्रका लागि उत्कृष्ट वर्ष हुने देखिएको छ ।’

‘यूरोप क्षेत्रको क्रयशक्ति निर्धारण सूचकांकले दिएको सन्देश प्रष्ट छ कि यहाँको व्यवसाय फस्टाउँदो अवस्थामा छ,’ आइएचएस मार्किटका क्रिस विलियमसनले भने ।

विलियमसनले थपे, ‘यूरोपमा अर्थतन्त्रमा देखिएको सुधारसँगै रोजगारीका अवसर अत्यधिक तीव्र दरमा सिर्जना भएका छन् त्यसैले व्यवसायिक कम्पनीहरूले मागअनुसारको उत्पादन गर्न सक्षम बन्ने प्रयास गर्दैछन् ।’

मार्किटले तयार पारेको क्रयशक्ति निर्धारण सूचकांक अक्टोबरमा ५६ र नोभेम्बरमा ५७.५ प्रतिशत पुगेको छ, प्रतिवेदन तयार गर्न संलग्न रहेको समूहको दावी छ । सूचकांक ५० भन्दा बढी हुनुलाई सकारात्मक मानिन्छ ।

सन् २०११ को मे पछि फ्रान्सको प्रगति उच्च दरमा रहेको पाइएको छ । यसलाई अनुमानभन्दा माथि बताइएको छ र फ्रान्सले जर्मनीलाई यो वर्षसँगै पाँच वर्षमा चौथोपटक उछिन्न सफल देखिएको छ ।

बेरोजगार दरमा कमी आउनु र पछिल्लो समय देखिएको स्वच्छ आर्थिक वृद्धि हेर्दा यूरोपेली केन्द्रीय बैंकले अक्टोबरमा धितो–पत्रलाई आधा बेच्ने भनी गरेको निर्णयलाई पनि पुष्टी गरिदिएको छ ।
तर, विलियमसनले भने अझै संकट आउनसक्ने भनी चेतावनी दिएका छन् । यद्यपि उनले यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने जर्मनीको राजनीतिक समस्यालाई महत्वकासाथ प्रस्तुत गरेका छैनन् । (रासस/एएफपी)

कमेन्ट गर्नुहोस्