प्रचण्डलाई मोदीको फोन, चीनको समवेदना

काठमाडौं, मंसिर ६ । पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोनमार्फत समवेदना दिएका छन् ।

चीनसहित अन्य कूटनीतिक नियोगका प्रतिनिधिले पनि प्रचण्डलाई समवेदना सन्देश पठाएका छन्।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार आइतबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन गरी अध्यक्ष प्रचण्ड र परिवारमा समवेदना प्रकट गरे । उनीहरूले नेपालले एउटा होनाहार युवा नेता र प्रचण्ड परिवारले कर्मठ छोरो गुमाएको उल्लेख गरे । नेपालका लागि भारतीय राजदूत मन्जिबसिंह पुरीले पेरिसडाँडास्थित माओवादीको केन्द्रीय कार्यालय पुगेर प्रचण्डलाई समवेदना दिए ।

आइतबार दिउँसो नेपालमा रहेको चिनियाँ दूतावासले अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरेको थियो । समवेदनामा चीनले सुपुत्र दाहालको निधनले चीन मर्माहत भएको बताएको छ । सोमबार बिहान नेपालका लागि चिनियाँ राजदूत यु होङले अध्यक्ष प्रचण्डलाई भेटेरै समवेदना प्रकट गरे ।

त्यस्तै, संयुक्त राष्ट्रसंघको आवासीय कार्यालयले पनि अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट दिएको छ । आवासीय प्रतिनिधि भलेरी जुलिन्डले पठाएको समवेदनापत्रमा प्रकाशको अल्पायु र अकल्पनीय निधनले संयुक्त राष्ट्रसंघ मर्माहत भएको उल्लेख छ ।

सोमबार नै रुसी दूतावासबाट अध्यक्ष प्रचण्डलाई समवेदना सन्देशप्राप्त भएको छ । रुसी राजदूत एन्ड्री बुडनिकले प्रकाशको आकस्मिक निधनले आफू स्तब्ध भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!