बिना मगरको क्षेत्रमा शोक सभामै जुट्यो ३० हजार चुनावी खर्च

बेलडाँडी, ४ मंसिर । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा उम्मेदवार बिना मगरका पति स्व। प्रकाश दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्न बेलडाँडीमा आयोजना गरिएको शोकसभामा बिना मगरको प्रचारप्रसारका लागि ३० हजार रुपैयाँ नगद जुटेको छ ।

पतिशोकमा परेकी कञ्चनपुरकी छोरी बिना मगरलाई जिताउन आवश्यक पर्ने खर्च स्वस्फूर्त रुपमा संकलन गरिएको चुनाव प्रचारप्रसार समिति सदस्य दिलबहादुर सार्कीले बताए । उनका अनुसार १ नम्बर निर्वाचन क्षेत्रको बेलडाँडी गाउँपालिकामा आयोजित श्रद्धाञ्जलि सभामा उपस्थित नेता कार्यकर्ताले स्वस्फूर्त रुपमा चुनावी खर्च संकलन गरेका हुन् । सभामा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले ५ हजार रुपैयाँ, माओवादी केन्द्रका नेता मोहन गिरीले ५ हजार रुपैयाँ, एमाले नेता अक्कल विष्टले ५ हजार रुपैयाँ, माओवादी केन्द्रका नेता भुवन एसकेले ५ हजार रुपैयाँ, रमेश भट्टले २ हजार रुपैयाँ, डम्मर साउँदले २ हजार रुपैयाँ र डम्बर विष्टले १ हजार रुपैयाँ सहयोग गरेका छन् ।

सभामा आयोजित अन्य सहभागीले समेत स्वस्फूर्त रुपमा सहयोग गरेका छन् । ‘संकलित रकम निर्वाचन परिचालनमा खर्च गरिने छ,’ सार्कीले भने । श्रद्धाञ्जलिसभामा १ नम्बर निर्वाचन क्षेत्रको संयुक्त निर्वाचन परिचालन समितिका संयोजक वीरबहादुर थापा ‘पातल’ लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीले स्व। प्रकाश दाहालको कञ्चनपुरसँगको सम्बन्ध, माओवादी आन्दोलनमा गरेको योगदान र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय व्यवस्थापनमा देखाएको कुशलताको सम्झना गरेका थिए ।

स्व। प्रकाश दाहालकी पत्नी बिना मगर अहिले पतिशोकमा रहेकाले उनलाई जिताउन सबैले सशक्त भूमिका निर्वाह गर्नुपर्ने निर्वाचन परिचालन समितिका संयोजक वीरबहादुर थापा ‘पातल’ले बताए । ‘केही विपक्षीले बिना मगरको विरोधमा अफवाह फैलाइरहेका कुरा आएका छन्,’ उनले भने, ‘पतिशोकमा परेकी छोरीविरुद्ध फैलाइएको अफवाह कसैले पत्याउने छैनन् ।’

शोकसभामा बोल्नै एमालेका नेता अक्कल विष्टले भने, ‘छोरी बहिनीलाई समस्या परेका बेला हामीले सहयोग गरेनौं भने कसले गर्ने रु माइतीले सहयोग नगरे कसले गर्ने रु’ वाम गठबन्धनकी संयुक्त उम्मेदवार बिना मगरको जित सुनिश्चित देखेपछि आत्तिएका विपक्षीले उम्मेदवारलाई पतिशोक परेको मौका छोपेर अफवाह फैलाइरहेका विष्टले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!