अमेरिकी कम्प्युटर नेटवर्कलाई हानि पुर्याउने उत्तर कोरियाको दाउ

काठमाडौं, मंसिर १ । अमेरिकी अधिकारीहरूले उत्तर कोरियामा विकसित सफ्टवेयर मालवेयरले अमेरिकाका कम्प्युटर नेटवर्कहरूमा आक्रमणको योजना बनाइरहेको बताएका छन्। यो मालवेयरमार्फत ह्याकरहरू सरकार, वित्तीय संस्थान, मिडिया र वाहन निर्माण संस्थानमा आक्रमणको प्रयास गर्दैछन् ।

विभिन्न सञ्चारमाध्यमका अनुसार, मंगलबार जारी गरिएको चेतावनीमा गृह सुरक्षा विभागको डीएचएस कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टीम सीईआरटीले ह्याकरहरू अहिले पनि कम्प्युटर नेटवर्कमा घात लगाएर बसेका हुनसक्ने बताएको छ ।

पहिलेको ह्याक आक्रमणमा परेका केही नेटवर्कमा वोल्गमरको ब्याकडोर ट्रोजन अहिले पनि विद्यमान हुनसक्ने सम्भावना औंल्याइएको छ ।

यसले ह्याकरलाई टाढै बसेर कुनै पनि सिस्टमलाई पूर्ण नियन्त्रणको अवसर दिलाउँछ ।

गृह सुरक्षा विभागले जारी गरेको अलर्टमा कथित ह्याकर समूह हिडन कोब्राको गोप्य गतिविधिको जानकारी दिइएको छ । यो समूहलाई लाजारस नामबाट पनि चिनिन्छ ।

सन् २०१७ को शुरुवातमा भएका अनेकौं साइबर आक्रमणमा यही समूह जिम्मेवार मानिएको थियो । उत्तर कोरियाली सरकारसँग यो समूह जोडिएको छ ।

अमेरिका र उत्तर कोरियाबीच तनाव बढ्दै जाँदा आणविक हतियारबाहेक साइबर अपरेसनलाई पनि उत्तरले परीक्षण गरिरहेको देखिन्छ । एजेन्सी

कमेन्ट गर्नुहोस्