एसिया कपको क्रिकेटः नेपाल अफगानिस्तासँग ७ विकेटले पराजित

फाइनल खेल्ने नेपालको सपना अधुरै रह्यो

काठमाडौँ, मंसिर १ । भारतजस्तो बलियो टोलीमाथि ऐतिहासिक जीत हासिल गर्दै उच्च मनोबलका साथ एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तासँग ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

योसँगै प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको सपना अधुरै बनेको छ । फेरि पनि नेपालको कमजोर ब्याटिङ नै हारको कारण बन्न पुग्यो ।

किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य अफगानिस्तानले मात्र २०।३ ओभरमा ३ विकेट गुमाउँदै सफलतापूर्वक पछ्याएको हो ।

अफगानिस्तानलाई जीत दिलाउन रहामनुल्लाह गुरबाजले सर्वाधिक ७१ रन बनाए । उनले यस क्रममा ९ चौका र २ छक्का हिर्काए ।

जीतका लागि १० रन आवश्यक हुँदा वर्षाका कारण खेल केही बेर अवरुद्ध बनेको थियो । नेपालले त्यसपछि लगातार दुई विकेट लियो । तर, त्यो निकै ढिला भइसकेको थियो ।

अब्दुल रसुलले दुई वटा छक्का हिर्काउँदै आफ्नो टोलीलाई जीत दिलाए ।

नेपालका लािग सन्दीप लामिछाने, कमल सिंह ऐरी र पवन शरार्फले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ब्याटिङमा निकै निरिह प्रदर्शन गरेको थियो । अनिल कुमार साहले ५० रन बनाउन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । साहले ५७ बलमा ७ चौका र १ छक्कासहित आफ्नो अर्धशतक पूरा गरेका थिए । तर, उनी पनि अर्धशतक पूरा गर्ने बित्तिकै मुजिब उर रहमानको बलमा आउट हुन पुगे ।

रहमानले ६ विकेट लिँदै नेपालको ब्याटिङक्रम ध्वस्त बनाए । उनले १० ओभर बलिङ गर्दै २ मेडेनसहित २८ रन खर्चेर ६ विकेट लिए । काइस अहमद कमावालले २ विकेट लिए ।

नेपालले निकै खराब शुरुवात गरेको थियो । ९ रनको अवस्थामा नै नेपालले आफ्ना दुई ओपनर गुमाएको थियो । एक तर्फ साहले नेपालको इनिङलाई जोगाई राखे पनि अर्कोतर्फ निरन्तर रुपमा विकेट गुमाइराख्यो । अन्ततः मात्र २८ ओभरमा नेपाल १०३ रन बनाउँदै अल आउट हुन पुग्यो ।

नेपालले समूह चरणको खेलहरुमा बंगलादेशसँग पराजित भएको थियो भने भारत र आयोजक मलेसियालाई हराएको थियो ।

अब आइतबार किनरारा ओभलमा हुने फाइनल खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्नेछ ।

बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई डकवर्थ लेविसको आधारमा २ रनले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!