अस्पतालको फोहोर व्यवस्थापन गर्न विकल्प खोजिदै

लोकेश धामी

कैलाली, मंसिर १ । धनगढीस्थित सेती अञ्चल अस्पताल परिसरमा रहेको फोहोर व्यवस्थापन गर्नका लागि विकल्प खोजिने भएको छ । लामो समयदेखि धनगढी उपमहानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न सयोगका लागि आग्रह गर्दा पनि सहयोग गर्ने कुनै संकेत नदेखिएपछि विकल्प खोजिन लागेको हो ।

यो वर्षको वैैशाख अघिसम्म धनगढी उपमहानगरपालिकाले उठाउँदै आएको फोहोर अहिले भने नउठाउँदा फोहोर व्यवस्थापनका लागि विकल्प खोजिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सजन केसीले जानकारी दिए ।

उपमहानगरपालिका कार्यालयले फोहोर फाल्ने ठाउँ अभाव तथा फोहोरको वर्गिकरण नगरेकाले अस्पतालको फोहोर नउठाएको बताएको छ । अस्पतालले अहिले फोहोर वर्गिकरण गरिसकेकाले फोहोर उठाउन फेरि उपमहानगरपालिकालाई आग्रह गरेको तर अहिलेसम्म कुनै प्रतिक्रिया नपाएको मेसु केसीले बताए । फोहोर व्यवस्थापन नहुँदा बिरामी तथा तिनका आफन्त आक्रोशित भएका छन् ।

सात महिनादेखि फोहोर व्यवस्थापन गर्न अस्पताल प्रशासनले कुनै चासो नदेखाएपछि विरामी तथा तिनका आफन्त आक्रोशित भएका हुन् । सर्वसाधारणले फोहोर व्यवस्थापनका लागि अस्पताल प्रशासनसंग निरन्तर आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । फोहोरले गर्दा संक्रामक रोगहरुको महामारी फैलिने खतरा बढेकाले शीघ्र फोहोर व्यवस्थापन गर्न अस्पताल प्रशासनलाई सर्वसाधारणले आग्रह गरेका छन् ।

प्रदेश नं.७ को एकमात्रै रेफरल अस्पतालको यस्तो दुर्दशाले त्यस वरपरको वातावरण दुर्गन्धित हुनुका साथै महामारी फैलिने खतरा भएकाले शीघ्र फोहोर व्यवस्थापन गर्न अस्पताल प्रशासनलाई सर्वसाधारणले आग्रह गरेका छन् ।

लामो समयदेखिको फोहोर समयमै नउठ्दा त्यस वरपरको वातावरणमा प्रतिकूल असर परेको छ । अस्पतालबाट निस्किने फोहोर अन्यभन्दा निकै जोखिमयुक्त हुने भएकाले छिटो यसको व्यवस्थापनका लागि स्थानीयले पनि आग्रह गरेका छन् ।

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!