मतदान केन्द्रमा खटाइने कर्मचारी गोलाप्रथाबाट छनोट गरिँदै

चरिकोट, कात्तिक २९ । मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाका विभिन्न मतदान केन्द्रमा खटाइने कर्मचारी गोलाप्रथाबाट छनोट गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले आयोगको निर्देशनअनुसार नै गोला प्रथाबाट कर्मचारी छनोट गर्न सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७४ बमोजिम मंसिर १० गते हुने निर्वाचनमा दोलखामा एक हजार ५१३ कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

आवश्यक कर्मचारी गोलाप्रथा विधि प्रयोग गरी छनोट गरिएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिनुभयो ।

यसपटक परम्परागत शैलीमा कर्मचारी खटाउने तयारी गरिएपनि आयोगको निर्देशनपछि गोलाप्रथा गरिएकामा कर्मचारीहरूले भने खुशी व्यक्त गर्न थालेका छन् ।

मंगलबार मतदान केन्द्रमा जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको छनोट भएको हो ।

विगतमा आफू अनुकूलका स्थानमा खटाउन कर्मचारी, तिनका संगठन र दलहरूले निर्वाचन अधिकृतलाई दबाब दिँदै आएका थिए । राजनीतिक दल र तिनका उम्मेदवारले पनि कर्मचारी खटनमा भनसुन गर्दै आएका थिए । पहुँचवाला कर्मचारीहरू सदरमुकाम नजिक र सुविधा भएका ठाउँ रोज्दै जाने भएपछि गोलाप्रथा अपनाइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!