कैलालीका मुक्त कमैया र सुकुम्वासी भन्छन्ः लालपूर्जा दिनेलाई भोट दिन्छौं

लोकेश धामी

कैलाली, कार्तिक २९ । आसन्न चुनाव नजिकिँदै जाँदा कैलाली जिल्लाका मुक्त कमैया र सुकुम्वासीले आफूहरूको उचित पुनःस्थापनाको पहल गर्नेलाई भोट दिने बताएका छन् । विगत चुनावका बेला नेताहरुले स्थायी बसोबासको व्यवस्था गरिदिन्छौं भनी आशावादी बनाएका भएपनि अहिले आएर धोका दिएकाले आसन्न चुनावमा भने जसले समस्या समाधान गर्छु भनेर प्रतिबद्धता जनाउँछन्, उसैलाई भोट दिने उनीहरुले बताएका हुन् ।

अहिले पनि जिल्लाका अधिकांश सुकुम्बासी तथा मुक्त कमैयाले जग्गाको लालपुर्जा पाउन सकेका छैनन्, जसले गर्दा राज्यबाट पाउने खानेपानी लगायतका सेवा सुविधाहरु पाउन सकेका छैनन् ।

वर्षौंदेखि आफ्ना समस्या समाधानका लागि नेताहरुलाई आग्रह गर्दा पनि अहिलेसम्म कुनै सुनुवाई नभएकाले मुक्तकमैया र सुकुम्बासीहरुलाई मंसिरमा हुने चुनावमा कस्ता व्यक्तिलाई भोट दिने वा नदिने भन्नेबारे सचेत भएका छन् ।

चुनावको खुममा मात्रै घरदैलोमै आएर आफूहरुको समस्या समाधानका लागि बाचा गर्ने तर पूरा गर्ने राजनीतिक दलका नेताहरुप्रति अहिले भने कैलालीका मुक्त कमैया तथा सुकुम्बासीहरु सचेत भएका हुन् । धनगढीको पुरानो हवाई मैदानको जग्गा ओगटेर बसेका झण्डै ५६ मुक्त कमैया र १२ परिवारले अझंैसम्म जग्गाको लालपुर्जा पाएका छैनन् । विगत चुनावमा उम्मेद्वारहरुले धेरै आश्वासन दिएको भएपनि अहिलेसम्म समस्या समाधान हुन नसकेको भन्दै अब वर्षौंदेखिको समस्या हल गर्ने नेतालाई भोट दिने विगत लामो समयदेखि पुरानो एअरपोर्टमा बस्दै आएकी झुमा टमटाले बताइन् ।

आश्वासन दिने तर जितेर गएपछि नेताहरुको बिर्सिने परिपाटीले गर्दा यहा“का मुक्त कमैया तथा सुकुम्बासी निकै हैरान छन् । मुक्त भएको १७ वर्ष भइसक्दा पनि अझैसम्म जग्गा नपाएको उनीहरुको गुनासो छ । विगत लामो समयदेखि एकै ठाउँमा बसोबास गर्दा पनि स्थायी बसोबासको ठेगान नहुँदा सुकुम्बासी तथा मुक्त कमैया निकै समस्यामा छन् ।

यस पटकको निर्वाचनमा उनीहरु समस्या समाधान गर्ने शर्तमा उम्मेदवारलाई भोट हाल्ने तयारीमा रहेको पुरानो एअरपोर्टकै मुक्त कमैया रामु चौधरीले बताए । अहिलेसम्म यो बस्तीमा शुद्ध खानेपानी प्रवन्ध हुन सकेको छैन ।

मुख्य बजारसंगै जोडिएको यो सुकुम्बासी तथा मुक्त कमैया टोलमा बत्ति पनि भर्खरै जडान गरिएको छ । तर, मुक्त कमैयाले भने नेताहरुको आश्वासनले लालपुर्जा पाइहालिन्छ भनेर पक्की घर निर्माण गर्न थालिसकेका छन् । नेताहरुबाट पाएको बचन भने पूरा हुन नसकेको उनीहरुको गुनासो छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!