पोखरा–११ लाई हराउँदै झापा–११ सेमिफाइनलमा

मंगलबार गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली पोखरा–११ लाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली झापा–११ सेमिफाइनलमा पुगेको छ ।

झापाका लागि पहिलो गोल खेलको १२औं मिनेटमा विदेशी खेलाडी मार्टिन अजयले गरे ।

त्यसपछि १७औं मिनेटमा कर्ण लिम्बू, १९औं मिनेटमा विशाल राई, ५६औं मिनेटमा खमिर गिल्सन कन्दङ्वा र ७६औं मिनेटमा कर्णले व्यक्तिगत दोस्रो गोल गर्दै झापाका लागि ५–० को जित सुनिश्चित गरेका हुन् ।

खेलको ‘म्यान अफ द म्याच’ झापा–११ का योगेश गुरुङ घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो ।

प्रतियोगिताअन्तर्गत् बुधबार विभागीय टोली सशस्त्र प्रहरी र मध्यप्रदेश, भारतको डायमन्ड अफ फुटबल एकेडेमीबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक सतासीधाम स्पोर्टिङ क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्