नगरपालिकामा अधिकृत नहुँदा सेवाग्राही मर्कामा

बर्दिया, कार्तिक २६ । बर्दियाको राजापुर नगरपालिकामा कार्यकारी अधिकृत र लेखा अधिकृत नहुँदा नगरपालिकाको कामकाज प्रभावित हुँदै गएको छ। राजापुरमा रहेका विषयगत सरकारी कार्यालयको बजेट स्थानीय तहमार्फत निकासा हुने भएपछि नगरपालिकासहित अन्य कार्यालयका कामकाज समेत प्रभावित भएको हो ।

नगरपालिकामा कार्यकारी अधिकृत र लेखा अधिकृत नहुँदा प्रत्यक्ष समस्यामा रहेको राजापुरको पशुसेवा केन्द्रका प्रमुख सुमन दत्तले बताए। नगर परिषद्को वेलामा योजना बनाएर दिएका छौँ नगरपरिषदबाट पास पनि भएको छ तर बजेट निकासा नहुँदा सेवा प्रवाह गर्न नसकिरहेको सेवा केन्द्र प्रमुख दत्तको भनाइ छ। किसान आउँदा लाचारका साथ हातै जोडेर ‘माफ गर्नु होस् आजभोलि सेवा दिन सकिरहेका छैनौँ’ भन्ने गरेको बताए। राजापुरको पशु सेवा केन्द्रले यो क्षेत्रमा पशुमा कृत्रिम गर्भाधानको सेवा दिएर किसानलाई दूध र मासु उत्पादनमा सहयोग गर्ने गरेकोमा हाल बजेट नभएर नाइट्रोजन ग्यास नहुँदा सेवा बन्द रहेको, विभिन्न कृषक समूहलाई दिने घाँसको बीउ खरिद लगायतका रकम कार्यालयले पाएको छैन ।

राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले भने कार्यकारी अधिकृत र लेखा अधिकृतको व्यवस्था गर्न मन्त्रालयमा पटकपटक पहल गर्दा पनि अझैसम्म नपठाएको बताए। नगरपालिकाबाट पहल गरिरहेका छौँ केही दिनमा आउने प्रमुख चौधरीको भनार्इ छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!