विष्फोटपछि अन्नतले यस्तो भने–वाम एकता देखेर अरु दल र समूहहरु अत्तालिएका छन्

जितका लागि होइन, भारी मतान्तरले जिताउनुहोस् भनेर भोट माग्न आएका : दिपेश पुन

राङ्सी(रोल्पा), कात्तिक २५ । शनिबार विहान नेकपाका कार्यकर्ताहरुको विद्युतीय धरापबाट जोगिएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वाम गठबन्धनबाट रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले आफ्नो चुनावी अभियानलाई निरन्तर अगाडि बढाएका छन् ।

विस्फोटले आफूहरुलाई नरोक्ने घोषणा गरेका उनले दिउँसो दुईखोली गाउँपालिकाका राङसी पुगेर रोल्पालाई नमूना जिल्ला बनाउने उद्घोष गरेका छन ।

चुनावी सभालाई संबोधन गर्दै अनन्तले समृद्ध र सुखी रोल्पालीका लागि रोल्पालाई नमूना जिल्ला बनाउने दावी गरे । ‘समृद्ध रोल्पा र सुखी रोल्पाली हाम्रो अभियान हो,’ उनले भने, ‘यसका लागि हामी समृद्ध, गतिशील, स्मार्ट र नमूना रोल्पा निर्माण गर्छौँ ।’

उनले भौतिक, सामाजिक, आर्थिक विकासबाट रोल्पालाई समृद्ध बनाउने खाका प्रस्तुत गरे । अनन्तले भने, ‘हाम्रो एक दशक जनयुद्धमा वित्यो, एक दशक शान्ति र संविधान निर्माण प्रक्रियामा बित्यो, अबको दशक समृद्धिको लागि वित्नेछ ।’ कार्यक्रममा अनन्तले राङ्सीले उपराष्ट्रपति, मन्त्री तथा अन्य नेताहरु जन्माएको भन्दै राङ्सीबासीलाई गौरव गर्न आग्रह गरे ।

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् वाम गठबन्धनका तर्फबाट रोल्पाका प्रतिनिधि सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले वाम तालमेलले अरु सबै अत्तालिएको बताएका छन् । वाम तालमेलबाट अत्तालिएकाहरुले भए नभएका काम गर्न थालेको उनको भनाई छ ।

निर्वाचन प्रचार प्रसारको क्रममा दुईखोली गाउँपालिकाको राङसीमा शनिबार आयोजित चुनावी सभालाई संबोधन गर्दै वरिष्ठ नेता अनन्तले भने, ‘वाम एकता देखेर अरु दल र समूहहरु अत्तालिएका छन् । त्यसैले भए नभएको काम गर्दै आएका छन् ।’

शनिबार विहान नेकपाका कार्यकर्ताहरुले गराएका वम विस्फोटको बारेमा कुनै धारणा नराखेका अनन्तले वाम तालमेलबाट उक्त समूह अत्तालिएर वम विस्फोट गराएको दावी गरे ।

विस्फोट निन्दनीय छ
कार्यक्रममा क्षेत्र नं. २ का प्रदेश सभा सदस्य उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य दीपेन्द्र पुन ‘सिजल’ले आफूहरुले फराकिलो मतान्तरले जित्ने दावी गरे । ‘हामी तपाईंहरुलाई जितका लागि भोट माग्न आएका होइन, भारी मतान्तरले जिताउनुहोस् भनेर भोट माग्न आएका हौँ,’ उनले भने ।

सिजलले शनिबार विहान आफूहरुलाई लक्षित गराएर गरिएको घटनाको निन्दा गरे । ‘आज विहान बम विस्फोट गराईयो । यो निन्दनीय छ,’ उनले भने ।

कार्यक्रममा एमालेका पोलिट्व्यूरो सदस्य गोकुल घर्तीले एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल मात्रै नभई पार्टी एकताका लागि तालमेल भएको बताए । उनले दुई पार्टीबीच छिट्टै एकता हुने दावी गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!