नयाँ ढंगबाट तरकारी बजार संचालन गर्ने

बनेपा, कात्तिक २२ । चार वर्षअघि बनेपामा स्थापना भएको तरकारी बजारलाई नयाँ व्यवस्थापनले नयाँ ढङ्गले सञ्चालन गर्ने भएको छ ।

काभ्रे कृषि बजार मल्टी पर्पोज प्रालिले आज बनेपामा पत्रकार भेटघाटको आयोजना गरी कृषि क्षेत्र र तरकारीका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।

नौ रोपनी क्षेत्रफलमा रहेको उक्त तरकारी बजारमा १२३ वटा स्टल रहेका छन । एकचालीस जना शेयर सदस्य रहेको मल्टी पर्पोज प्रालिले तरकारी बजारका लागि रु तीन करोड ५० लाख लगानी गरेको सो प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिए ।

“तरकारी बजारबाट वार्षिक रु ३० अर्बको कारोबार हुन्छ,” उनले भने । कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य सिधै पाउने र बिचौलियालाई विस्थापन गरिने योजना बनाइने उनले बताए ।

काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला, पनौती, ढुंखर्क, रविओपी, सिपाली, रोशी, मंगलटार, पाँचखाल, मण्डन देउपूर लगायत ठाउँबाट बजारमा दैनिक तरकारी संकलन हुने गर्दछ ।

संकलित तरकारी स्थानीय बजार हुँदै कालीमाटी, बल्खुलगायत ठाउँमा पुग्ने गरेको छ । कृषि बजारमा दैनिक १० टन तरकारी संकलन हुने गर्छ । काठमाडौंस्थित कालीमाटी बजारको कूल खपतको ११.५३ प्रतिशत तरकारी काभ्रेपलाञ्चोकबाट संकलन हुने गरेको कालीमाटी थोक तथा खुद्रा बजारको आव २०७३–७४ को तथ्यांकमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!