नेपाली काँग्रेसद्वारा बागी उम्मेदवारको सदस्यता खारेज

लुम्बिनी, कात्तिक २२ । नेपाली काँग्रेस रुपन्देहीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको जनाएको छ ।

नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो ।

पार्टीको विधानअनुसार रुपन्देही क्षेत्र नं १ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उहाँका प्रस्तावक खुमलाल गौतम र समर्थक नीमबहादुर थापाको पार्टी सदस्यता खारेज गरेको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

त्यस्तै क्षेत्र नं ३ को १ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उनका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं ३ को २ बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेस बिपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उनका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गरेको सभापति रज्जाकले जानकारी दिए ।

त्यस्तैगरी रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका अमृतलाल भट्टराई र उहाँका प्रस्तावक शालिकराम पाण्डे तथा समर्थक दिनेशप्रसाद पाण्डे, क्षेत्र नं ४ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि वीरेन्द्र कलवार उहाँका प्रस्तावक सीताराम पाल तथा समर्थक मनोजकुमार कलवार, क्षेत्र नं ५ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि अमेरिका कोहार तथा उनका प्रस्तावक कलामुद्धिन मुसलमान र समर्थक दिनेशचन्द्र बर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।

सभापति रज्जाकले पार्टीको नीति तथा हितविपरितका गतिविधि गर्नेलाई तत्काल कारबाही गरिने पनि बताए ।

कमेन्ट गर्नुहोस्