वाम गठबन्धनले कांग्रेसमा ८ रेक्टर स्केलको भूकम्प : वामदेव गौतम

बर्दिया, कात्तिक २१ । नेकपा एमालेका उपाध्यक्ष एवं बर्दिया क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार वामदेव गौतमले वाम गठबन्धनले नेपाली कांग्रेसमा ८ रेक्टर स्केलको भूकम्प गएको बताए । साथै उनले वाम गठबन्धनले सरकार चलाए त सबैभन्दा ठूलो भूकम्प जानै दावी गरे ।

बर्दियाको गुलरियामा नगरस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै गौतमले भने, ‘अबको ५० वर्षसम्म काँग्रेस प्रतिपक्ष भएर बस्नुपर्छ । देशको विकास र समृद्धिका लागि जनताको चाहना अनुरुप वाम एकता भएको हो । चुनाबपछि ५० वर्षसम्म वाम गठबन्धनले देश चलाउँछ ।’

वाम गठबन्धनको नेतृत्वको सरकारले अबको ५ वर्षमा भारतभन्दा विकसित र १० वर्षमा चीन बराबरको आर्थिक समृद्धिमा देशलाई पुर्याउने ।

गौतमले वामपन्थीहरुको स्पष्ट बहुमत हुँदाहुँदै पनि देशमा अस्थिर सरकार चलेकोले नै वाम एकता भएको बताए । उनले भने, ‘वाम गठबन्धन स्थिर सरकारको एउटा परिचायक हो । नेपाल वाम गठबन्धनको नेतृत्वमा समृद्धिको बाटोमा अगाडि बढ्छ । हामी छिट्टै नै अरु मुलुकसँग प्रतिस्पर्धामा उत्रन चहान्छौ ।’

गौतमका अनुसार वाम गठबन्धनको नेतृत्वको सरकारले अबको ५ वर्षमा भारतभन्दा विकसित र १० वर्षमा चीन बराबरको आर्थिक समृद्धिमा देशलाई पुर्याउने दावी गरे । यथास्थितिवादीहरुले अहिले पनि वाम गठबन्धन तोड्ने यथेष्ट प्रयास गरेको तर त्यो कहिल्यै सफल नहुने गौतमको दावी छ ।

बबई सिचाई आयोजना, भेरीबबई डाईभर्सन, कर्णाली पुललगायतका आयोजनाहरु एमाले र माओवादीको सरकारको पालामा सुरु भएको ।

उपाध्यक्ष गौतमले बर्दियाको विकासको जग २०५१ सालमा एमालेको सरकारले ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नीतिबाट सुरुवात भएको बताए । उनले बबई सिचाई आयोजना, भेरीबबई डाईभर्सन, कर्णाली पुललगायतका आयोजनाहरु एमाले र माओवादीको सरकारको पालामा सुरु भएको बताए ।

उनले गुलरिया नगरपालिकालाई नेपालकै नमुना नगरको रुपमा विकास गर्ने वाम गठबन्धनको योजना रहेको बताए । संयुक्त भेलामा गुलरिया नगरपालिका र जिल्ला स्तरका एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताहरु उपस्थिति थियो । संयुक्त बैठक सम्पन्न हुँदै बर्दियामा वाम गठबन्धनका संयुक्त बैठकहरु भईरहेका छन् ।

वाम गठबन्धन भईसकेपछि एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनबीच संयुक्त बैठक भएका हुन् । त्यसैगरी संयुक्त कार्यकर्ता भेला पनि भईरहेको नेकपा एमाले बर्दियाले जनाएको छ । त्यसैगरी जिल्लामा रहेका स्थानीय निकाय स्तरका संगठनबीच पनि संयक्त बैठक भएको एमाले बर्दियाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!