स्वास्थ्य स्वस्थ राख्न दैनिक भोजनमा तीन पोषक तत्व हुनु अति अावश्यक

हामीले शारीरिक र मानसिक रुपमा स्वस्थ र फिट रहन आफ्नो भोजनलाई सन्तुलित बनाउनु जरुरी छ । यी तीन महत्वपूर्ण पोषक तत्व हाम्रो खानामा सामेल गर्न सके मस्तिष्कदेखि रोग प्रतिरोध प्रणालीसम्मलाई स्वस्थ्य र सुदृढ पार्छ ।

भिटामिन बी

भिटामिन बीले मानसिक क्षमता वृद्धि गर्छ र मुटुको सुरक्षा गर्छ । ८ वटा भिटामिन बीमध्ये बी १२ र फोलेट सबैभन्दा महत्वपूर्ण छन् । भिटामिन बी १२ ले हामीले खाएको भोजनलाई ऊर्जामा परिणत गर्न सघाउनुका साथै हाम्रो स्नायुतन्त्रको सुरक्षा कवच मानिने ‘माइलिन’ बनाउन आवश्यक पर्छ ।

यसले मस्तिष्कका करोडौं ‘न्युरोन’ लाई आपसमा सञ्चार गर्न पनि सघाउँछ । भिटामिन बी१२ को कमीले स्मरण शक्ति घट्ने, भ्रम उत्पन्न हुने र डिप्रेसन हुन्छ ।

फोलेट गर्भवतीका लागि महत्वपूर्ण मानिए पनि महिला पुरुष सबैका लागि यो उत्तिकै आवश्यक छ । भ्रुणको विकासमा यसको महत्वपूर्ण भूमिका हुन्छ। सामान्यतया शरीरमा फोलेटले मस्तिष्कघात र मुटुसम्बन्धी रोगको जोखिम बढाउने ‘एमिनो एसिड’को मात्रा बढ्न दिँदैन । फोलेट र भिटामिन बी मुटुका लागि आवश्यक पोषण समूहमा पर्छन्।

केमा पाइन्छ भिटामिन बी र फोलेट

भिटामिन बी१२ त्यस्तो दुर्लभ भिटामिन हो, जुन वनस्पति अर्थात् सागसब्जी, फलफूल वा गेडागुडी कुनैमा पनि पाइँदैन । भिटामिन बी१२ अन्डा, चिज, दूध, दही, माछा र रातो मासुमा पाइन्छ। तर, फोलेट भने हरिया सागसब्जी, कुरिलो, भिटामिन लगायत विभिन्न पोषक तत्व मिसाइएका तयारी खाद्यान्नमा पाइन्छ ।

भिटामिन डी

शरीरका हाड र रोग प्रतिरोध प्रणालीका लागि भिटामिन डी आवश्यक छ । हामीलाई ‘भिटामिन डी’ को ठ्याक्कै कतिमात्रा आवश्यक पर्छ, वैज्ञानिकहरूले बताउन सकेका छैनन् । तर, अधिकांश अध्ययन अनुसन्धानले शरीर स्वस्थ राख्न भिटामिन डी महत्वपूर्ण रहेको देखाएका छन् । यसले क्याल्सियमलाई सोस्न सक्षम बनाउँछ, र क्याल्सियमले हाड बलियो बनाउँछ । रोग प्रतिरोध प्रणालीको प्रभावकारी कामका लागि पनि भिटामिन डी आवश्यक छ । केही अध्ययनले भिटामिन डीको कमी हुँदा क्रोन्स डिजिज (पाचन प्रणाली बिग्रने), ‘¥युमाटिड आर्थराइटिस’ र ‘मल्टिपल सिरोसिस’जस्ता रोग लाग्न सक्ने देखाएका छन्।

भिटामिन डी पाइने खानेकुरा

भिटामिन डी पनि भोजनबाट पाउन कठिन छ । बरु हाम्रो शरीरले नै भिटामिन डी बनाउँछ तर यसका लागि हामीले हाम्रो छालामा बिहानको मधुरो घाम पार्नुपर्छ । साथै उत्तरी गोलाद्र्धका बासिन्दाले भने अन्डाको पहेँलो भाग, धेरै चिल्लो पाइने माछा (जस्तै सार्डिन), पोषक तत्व मिसाइएको दूध, सुन्तलाको रस, अन्न आदिबाट भिटामिन डी लिन सक्छन् । यसबाहेक आवश्यक परे चिकित्सकको परामर्शमा भिटामिन डीको ट्याबलेट खान सकिन्छ।

म्याग्नेसियम

म्याग्नेसियमले निदाउन सघाउनुका साथै दुखाइ घटाउँछ । पछिल्लो समय अनिद्राका रोगीहरू म्याग्नेसियम प्रति हुरुक्क छन् । तर, यसले निद्रा लगाउने औषधिजस्तो खानेबित्तिकै निद्राले लठ्ठ बनाइहाल्दैन । यसले मांसपेशीलाई आराम गर्न सघाउने र मांसपेशीको दुखाइमा आराम दिलाउने भएकाले हिजोआज धावक र कसरत गर्नेहरूबीच निकै लोकप्रिय भएको छ ।

यसले हामीलाई जगाइराख्ने मस्तिष्कको हिस्सालाई सुदृढ बनाउँछ । यसले हामीलाई राति निद्रा बिथोल्ने सामान्य एन्जाइटी शान्त पार्न पनि मद्दत गर्छ । म्याग्नेसियमले माइग्रेनको दुखाइ कम गर्ने पनि विभिन्न अध्ययनले देखाएका छन्।

म्याग्नेसियम पाइने खानेकुरा

भोजन सम्बन्धी अधिकांश सर्वेक्षणले अमेरिकीहरूलाई म्याग्नेसियमको कमी भएको देखाएका छन् । यसको कारण भने फाइबर धेरै मात्रामा पाइने सागसब्जी र ब्राउन राइस म्याग्नेसियमको मुख्य स्रोत हुन् र अमेरिकीहरूले भोजनमा यी दुवैको साटो प्रशोधित र डिब्बाबन्द खानेकुरा खान्छन् । पर्याप्त फाइबर र म्याग्नेसियमको पोषण पाउन विभिन्न खालका बिउहरू अझ (हाडे बदाम, ओखर, फर्सीको बिउ) खानु उपयुक्त हुन्छ ।

स्वास्थ्यखबरबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!