एमिकस क्युरीको सहयोग माग

काठमाडौं, कात्तिक १९ । सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खटिने करिब पाँचलाख कर्मचारीलाई मतदान गर्न दिने विषयमा राय दिन एमिकस क्युरी (विज्ञ) को सहयोग मागेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनबाट एक–एकजना एमिकस क्युरी माग गर्ने आदेश जारी गरेको हो ।

निर्वाचनमा खटिएको ठाउँमा कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका भरतकुमार मैनालीले हालेको रिट निवेदनको सुनुवाइपछि अदालतले एमिकस क्युरी माग गरेको हो ।

यसअघि सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीलाई समानुपातिकतर्फ मताधिकारको प्रयोग गर्न रोकिएकोमा प्रश्न गर्दै जवाफ दिन निर्वाचन आयोगको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

सरकार र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै मैनालीले कात्तिक १३ गते दायर गरेको रिट निवेदनमा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले लिखित जवाफसहित आज आउन निर्वाचन आयोगको नाममा आदेश दिएको थियो ।

आयोगले मंसिर १० र २१ गतेको निर्वाचनमा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिक प्रणालीमा मतदान गर्न नपाउने निर्णय गरेको छ ।

निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी र म्यादी प्रहरीको अस्थायी मतदाता नामावलीको व्यवस्था नभएकाले उनीहरूले समानुपातिक निर्वाचनमा समेत मतदान गर्न नपाउने भएका छन् । रासस

कमेन्ट गर्नुहोस्