चितवनका कम्युनिष्टको अपत्यारिलो र अनौठो हर्कत

‘कम्युनिष्टहरु विचित्रका हुन्छन्, आलोचना गर्न परे भित्तामैं पुग्ने गरी गर्छन्, मिल्न परे अङ्गाल्नो हाल्न बेर लाग्दैन ।’ प्रचण्डले मञ्चबाट यसोभन्दा तालीसँगै हाँसोको फोहोरा छुट्यो ।

‘केपीजी र मेरो स्वभाव अलिअलि मिल्छ जस्तो छ ।’ प्रचण्डले अगाडि थपे, ‘अलिअलि अटेरी, अलिअलि घमण्डी । लचक हुनु परे पनि बेर नलाग्ने ।’

प्रचण्डले विहीबार मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै थिए ।

दृश्य चितवनको थियो ।

चितवन । यो त्यही चितवन हो, जहाँ एमाले र माओवादीबीच शत्रुतापूर्ण सम्बन्धको विकास भएको थियो । देश र विदेशमा यो कटुताले निकै ठूलो चर्चा पायो । यो शत्रुतापूर्ण सम्बन्धले दुई पात्रलाई विशेष चर्चामा ल्यायो । एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहाल । दुबै मेयरका प्रतिष्पर्धी थिए ।

एमाले अध्यक्ष ओलीले समेत बेलामौकामा चितवनको चर्चा निकै गरे । माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयर उम्मेदवार भएकाले प्रचण्डको उछितो काढ्न चितवन एउटा नमूना नै बन्यो आलोचनाको ।

स्थानीय चुनावमा कांग्रेसको साथ पाएको थियो माओवादीले । एमाले दुश्मनजस्तै थियो चुनावी मैदानमा । यता एमालेका लागि सरकारमा भएका एमाले र कांगे्रस शत्रुजस्तै बनेका थिए । यो माहौलबीच भरतपुर महानगरपालिको निर्वाचन सम्पन्न भयो ।

त्यो दृश्य भोग्ने र देख्नेहरुका लागि चितवनमा फेरि एमाले र माओवादी एक भएर अघि बढ्लान् भन्ने कल्पनाझैं थियो । तर, अचम्म १ अहिले त्यही चितवनमा सबैभन्दा बढी आत्मिक एकता यी दुई दलबीच देखिएको छ । एउटा सौहाद्र वातावरण, आशंकारहित सम्बन्ध । प्रचण्ड र देवी ज्ञवाली एउटै मञ्चमा कुम जोडेर बस्न थालेका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसम्म आइपुग्दा समय फेरियो । प्रचण्डले भने झैं भित्तैमा पुग्ने गरी आलोचना गरिरहेका माओवादी र एमालेबीच बेग्लै सम्बन्धको विकास भयो ।

‘अब इतिहासलाई थन्क्याएर राखिदिऊँ, हामी समाजवादको महान यात्रामा अघि बढ्न एकतावद्ध बनेका छौं,’ देवी ज्ञवालीले कार्यक्रम सञ्चालन गर्दै भनिरहेका थिए, ‘तीता कुरा सम्झिएर नेपाली समाजको रुपान्तरण हुँदैन । एकताको यो महान अभियानको पहिलो चरण चुनाव हो ।’

नेपाली कांग्रेससँग सत्तामा सहयात्रा गरिरहेकै बेला नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताको निर्णय भएपछि यसले राजनीतिलाई नयाँ ढंगबाट ध्रुवीकरण गरेको छ । अहिले एकातिर वामपन्थी शक्तिहरु छन् र अर्कोतर्फ नेपाली कांग्रेसलगायतका शक्तिहरु । विगतमा वामपन्थीहरुबीचको तिक्ततापूर्ण सम्बन्ध र दुई भिन्न विचार भएका नेपाली कांग्रेस र माओवादी या नेकपा एमाले र नेपाली कांग्रेसबीचको सम्बन्ध तत्कालका लागि सहज देखिए पनि त्यो अस्वाभाविक थियो ।

एउटा निर्णाायक अवस्थामा यो सम्बन्ध भत्कियो । जेजस्तो सम्बन्ध भए पनि वापमन्थीहरु एक ठाउँ आइपुगे । भरतपुरको सभामा बिभिन्न नेताहरुको सम्बोधन सुन्दा अब यो सम्बन्धले एउटा नयाँ उर्जा र प्रेरणा थपेको देखिन्छ ।

त्यसो त नेपालमा आम कम्युनिष्ट समर्थक जनताले कम्युनिष्टहरु विभाजित भएको मन पराएका थिएनन् । सधैं एउटा प्र्र्रश्न उनीहरुको मनमा हुन्थ्यो, “सबै कम्युनिष्टहरुले गरीबदुखीका कुरा गर्छन्, तर मिलेर सरकार किन बनाउँदैनन् रु सर्वहारा र मजदूरको कुरा गर्छन्, तर मजदूरहरुकै १० वटा ट्रेड यूनियन बनाउँछन । उनीहरु न जनजीविकाका मुद्दामा मिल्न सक्छन्, न त सरकारमा नै ।”

समर्थकको यो मनोभाव भने कम्युनिष्ट नेताहरुले कहिल्यै बुझेनन् । उनीहरु सधैं विभाजित नै भइरहे । कहिले सिद्धान्तका नाममा, कहिले नेतृत्वका नाममा ।

दरभंगा प्लेनम हुँदै दोश्रो राष्ट्रिय सम्मेलनपछि नेपालका कम्युनिष्टहरु कहिल्यै एक देखिएनन् । किताबका पानामा लेखेका शब्द–शब्दमा उनीहरुले मनोगत विश्लेषण र तर्क गरेर कित्ताहरु बाँडफाँड गरे । यी कित्ताहरुमा नेपाली समाजको रुपान्तरणको मर्मभन्दा बेसी सिद्धान्तको बास्ना झल्किने गथ्र्यो ।

विगत छोडौं, कम्तिमा शान्ति प्रक्रियापछिको पहिलो संविधान सभामा यति कम्युनिष्टहरु मिलेको भए के हुन्यो रु मूलभूत राजनीतिक मुद्दामा उनीहरु एक हुन्थे भने त्यतिखेर समाजवादी संविधान नै लेख्न पनि कसैले रोक्न सक्थ्यो र ?

अहिले कांग्रेसदेखि राप्रपासम्म ‘समाजवादोन्मुख’ संविधानमा राजी भएका बेला एमाले र माओवादी त्यतिखेरै मिलेको भए उनीहरुले संविधानका शब्द–शब्द आफुखुसी परिवर्तन गर्न सक्दैनथे र रु न भूमिसुधार गर्न उनीहरुलाई बाधा पुग्थ्यो, न त सर्वहारा, किसान मजदूरका मुद्दाहरु सम्बोधन गर्न ।

तर बिडम्बना, अस्तित्वको दम्भमा कम्युनिष्टहरु एक भएनन् या उनीहरुलाई एक हुन दिइएन । एमाले बरु कांग्रेससँग मिल्यो, माओवादीले बरु कांग्रेसलाई रोज्यो तर उनीहरुले एकअर्कालाई विश्वास गरेनन् ।

यही अविश्वासमा भरतपुरको स्थानीय निर्वाचनले झनै कटुता थपेको थियो ।

यही सन्दर्भ बताउँदै भरतपुरको सभामा प्रचण्डले मदन भण्डारीको प्रसंग निकाल्दै एउटा गम्भीर कुरा गरे । इतिहासका संयोगहरुलाई छोप्न नसक्दा त्यसको परिणाम गम्भीर हुन्छ भन्ने प्रचण्डले बताए । प्रचण्डसँग जेठ ११ गते नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने गरी बिस्तृत छलफल गर्ने कार्यक्रम तय भएको तर जेष्ठ ३ गते नै वहाँको हत्या भएपछि त्यो जेठ ११ कहिल्यै नआएको प्रचण्डले सुनाए ।

“कल्पना गर्नुस् त रु यदि त्यो जेष्ठ ११ आइदिएको भए के हुन्थ्यो होला ?’

सम्भवतः यदि अहिले ओली र प्रचण्डबीच पार्टी एकता गर्ने निर्णय भएझैं भण्डारी र प्रचण्डबीच एउटै कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको भए रु ०५२ फागुन १ आउने थिएन । राजतन्त्रविरुद्ध निर्णायक संघर्ष हुन्थ्यो, सत्ताले दमन गथ्र्यो र मदन भण्डारीसमेत बल प्रयोगको अनिवार्य सिद्धान्त स्वीकार्न बाध्य हुन्थे या माओवादीले बल प्रयोग नभइकन पनि बहुमतबाट सुधारात्मक काम गरेर अघि बढने बाटो समात्थे । या ०६३ पछि माथि भनिएझैंको अवस्थामा पुगिन्थ्यो ।

यी इतिहासका सम्भावना थिए । जो भएनन् । तर, ढिलै भए पनि नेपालमा अहिले कम्युनिष्टहरु एक ठाउँ आएका छन् ।

चितवनको संयुक्त जनसभामा प्रचण्डदेखि सुरेन्द्र पाण्डे र देवी ज्ञवालीदेखि नवीना लामासम्मले वाम एकताको अपरिहार्यता, कम्युनिष्टहरुबीचको जीवित र हार्दिक सम्बन्धमा जोड दिए । चितवनको सभामा सबै वक्ताहरुले वाम एकताको औचित्य र त्यसले दिन खोजेको सन्देशका बारेमा बढी समय खर्च गरे ।

सुरेन्द्र पाण्डेले झापा विद्रोह र माओवादी विद्रोहका नायकको चर्चा गर्दै एउटा महान उद्देश्यका लागि आफ्ना तमाम व्यक्तिगत असहमति, विगतका तीता सम्बन्धहरुलाई अन्त्य गर्दै यी दुबै विद्रोहबाट विकास भएका दुई पार्टीबीच एकता हुने कुरा गरे ।

प्रचण्डले पार्टी एकताका लागि मदन भण्डारी छँदै र त्यसपछि ०६४ सालमा समेत प्रयास भएको चर्चा गरे । अन्य नेताहरुले समेत एकताका पक्षमा कुरा गरे । समग्र कार्यक्रमले लौ, अब हामी एक भयौं, हिजो कार्यगतरुपमा कतिपय आलोचना प्रतिआलोचना भए पनि हामी सामूहिकतामा विश्वास गर्ने शक्तिहरु अग्रगमन र रुपान्तरणका लागि एक भएको सन्देश दिए ।

विगतमा यही चितवनमा एकले अर्कोलाई सिध्याउन ज्यान फालेका दुबै शक्तिबीचको यो एकताको प्रस्तुति आश्चार्यजनक थियो ।

हो, कतिपय जिल्लाहरुमा माओवादी र एमालेभित्रै चरम अन्तरविरोध देखिएको छ । एकाअर्काको अस्तित्व स्वीकार्ने कुरामा समस्या देखिएको छ । तर, चितवनमा भने त्यो छनक देखिँदैन । जबकि चितवनमा एक अर्काप्रतिको कटुता सबैभन्दा बढी देखिनु पर्ने हो । तर त्यो चितवनमा देखिएन । बरु दुबै राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति जारी गरेर व्यवस्थित एवं एकीकृत चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको सार्वजनिक गरे ।

‘अब वडास्तरमा संयुक्त बैठक बस्नेछन्, संयुक्त चुनावी कार्यक्रम हुनेछन्, हामी कोही पनि एक अर्काप्रति नकारात्मक किसिमका टिप्पणी गर्ने छैनौं’ देवी ज्ञवाली आफैंले यो कुरा मञ्चमा बारम्बार भनिरहेका थिए ।

कतिपय जिल्लामा अहिले पनि एमाले र माओवादीबीच आशंका व्याप्त छ । चुनावको टिकट पाउन एमाले र माओवादीबीच भएको विवाद र स्थानीयस्तरमा एमाले र माओवादीकै नेताहरुले एक अर्कालाई उपयोग गरेर आफ्ना पक्षमा टिकट पार्न गरेको चलखेल र दौडधुपले यस्ता आशंका र अविश्वासलाई थप बढाएको छ ।

चितवनमा भने सहज वातावरणमा दुबैबीच सीटको बाँडफाँड भएको छ । क्षेत्र नं। १ देखि ३ र प्रदेशका उम्मेदवार सर्वस्वीकार्य भएका छन् । मन खिन्न पार्ने एक दुईजना नेताहरु समेत विहीबारको कार्यक्रमपछि एक ढिक्का भएको नेताहरुले दाबी गरेका छन् ।

हठात् एवं यान्त्रिक ढंगले गरिएको वाम एकता र गठबन्धनको निर्णय जैविकरुपमा एक अर्कासँग घनिभूत र एकाकार हुने दाबी दुबै दलका नेताहरुको छ । (अनलाइनखबरबाट साभार)

कमेन्ट गर्नुहोस्