दरबारमार्गका ८ पसलेलाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौं, कात्तिक १६ ।उपभोक्तालाई ठगी गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेका दरबारमार्गस्थित आठ पसल सन्चालकलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बुधबार अनुमति दिएको छ ।

अत्यधिक मूल्यमा सामान बिक्री गरेको आरोपमा पक्राउ परेका ८ व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिन म्याद थप गरिएकोे काठमाडौंका प्रजिअ केदारनाथ शर्माले जानकारी दिए ।

गत भदौ १९ गते तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा रहेका पसलमा अनुगमनकाक्रममा लागतभन्दा १० गुणा बढीसम्म रकम लिएर सामान बेचबिखन गरेको भेटाएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको थियो ।

विदेशी ‘ब्रान्ड’का सामान बेच्ने ती पसल सन्चालकलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित हुन आग्रह गरेपनि उपस्थित नभएपछि मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा रोशन ओडारी, तुलसीधर भण्डारी, राजेश्वर श्रेष्ठ, नन्दन बिहानी, जीतेन्द्र महर्जन, सुवास महर्जन, श्रीकृष्ण महर्जन, उत्तमकुमार बस्नेत र प्रविन झा रहेका छन् ।

पक्राउ परेकालाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत् कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!