राप्रपा बैतडीमा रितियो, लख्खाभाइसहित सयौं नेता वाम गठनबन्धनमा प्रवेश

बैतडी, कात्तिक १५ । राप्रपाका केन्द्रीय सदस्य एवम् ७ नं. प्रदेश सहसंयोजक पुष्करराज जोशी ‘लख्खाभाई’ बाम गठनबन्धनमा प्रवेश गरेका छन् ।

बुधबार बैतडीको खोड्पेमा आयोजना गरीएको चुनावी सभामा एमालेका उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका जिल्ला ईन्चार्ज नरेन्द्र कुँवर (बिजयसुन्दर) लगायतका नेताहरुले टिका लगाएर लख्खाभाई गठबन्धनमा स्वागत गरेका थिए ।

एक दर्जन संस्थापक नेताहरुले राप्रपा परित्याग गरेको एक हप्ता नवित्दै राप्रपाका प्रभावशाली युवा नेता लख्खाभाईले पनि पार्टी परित्याग गरेका हुन । लख्खाभाईसँगै जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी वाम गठबन्धनमा प्रवेश गरेका हुन ।

राप्रपा परित्याग गरि एकसय भन्दा बढी नेता कार्यकर्ताहरु बाम गठबन्धनमा प्रबेश गरेको माओवादी केन्द्रका जिल्ला संयोजक एवम् प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमप्रकाश भट्ट आदित्यले बताए ।

राप्रपाको जिल्ला कार्यसमितिमा अध्यक्षमात्रै बाँकी

राप्रपा बैतडीका जिल्ला उपाध्यक्ष प्रेमसिह धामीले अघिल्लो हप्ता पार्टी परित्याग गरेको घोषणा गरेका थिए । तर उनले कुनै पार्टी पनि प्रवेश गरेका छैनन् । जिल्ला कार्यसमितिका सचिव प्रजापति जोशी, सहसचिव सुरेन्द्र भाट, कोषाध्यक्ष महेश भण्डारी लगायत जिल्ला समिति सदस्यहरुले आज लख्खाभाईसँगै बाम गठबन्धन प्रवेश गरेका छन् ।

यस्तै राष्टिय प्रजातान्त्रिक युवा संघका केन्द्रिय सदस्य तथा सात नम्बर प्रदेशका संयोजक दिपेश शाह, बैतडी क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव देवदत्त अवस्थी, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का निर्वाचित वडा अध्यक्ष रामसिह भण्डारी, वडा सदस्य गोविन्द भण्डारी, किसनसिह भण्डारी, विद्यार्थी कमिटीका जिल्ला अध्यक्ष लक्ष्मी बोहरा, क्रिक्रट संघ बैतडीका उपाध्यक्ष लोकराज जोशी पनि लख्खाभाईसँगै वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

यस्तै नेपाली काग्रेसबाट पनि क्षेत्र नम्बर २ का सहसचिव एबम् महिला संघ बैतडीका जिल्ला उपाध्यक्ष विष्ना जोशी लगायत कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेश गरेको एमाले जिल्ला सचिव तथा प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार लिलाधर भट्टले बताए ।

पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गरेका नेता कर्यकर्ताहरु प्रदेश क्षेत्र नम्बर २ का रहेका छन् जाहाँ राप्रपाले नेपाली कांग्रेससँग तालमेल गरी गणेश बहादुर चन्दलाई प्रदेशसभाका लागि उम्मेदवार उठाएको छ । चन्दलाई अब चुनाव जित्न कांग्रेसकै भोटहरुमा भरपर्नुपर्ने अवस्था आएका छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!