ढुंगेलको रिहाइको माग गर्दै ओखलढुंगामा विरोध प्रदर्शन

ओखलढु‌ंगा, कात्तिक १५ । मंगलबार पक्राउ परेका नेता बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै माओवादी केन्द्र ओखलढुंगाले बुधबार मानेभन्ज्याङमा विरोध प्रदर्शन गरेको छ ।

माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले प्रदर्शन गर्दै विरोधस्वरुप हर्कपुर–ओखलढुंगा सडक आधा घण्टाका लागि बन्द गरेका थिए । माओवादी केन्द्र ओखलढुंगाले बुधबार विज्ञप्ती जारी गर्दै ढुंगेलको रिहाईको माग गरेको छ ।

कालो ब्यानरसहित नारा जुलुसमा उत्रिएका प्रदर्शनकारीले मानेभञ्याङस्थित सडकमै कोणसभा गरे । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बाबुराम गौतम र एमालेका पुराना नेता लोककृष्ण भट्टराईलगायतले कोणसभालाई सम्बोधन गरे । बाबुराम गौतमले दस वर्षे जनयुद्धका मुद्दालाई ब्युँताउने गरी ढुंगेललाई पक्राउ गरिएको र तत्काल स–सम्मान रिहाई गर्नुपर्ने बताए ।

नेताहरुले ढुंगेलको रिहाई नगरे देश पुनः द्वन्द्वमा जानसक्ने चेतावनी दिए । लोककृष्ण भट्टराईले सरकाले बृहत् शान्ति सझौताविपरीत बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्नु दुर्भाग्यपूर्ण रहेको बताए । पार्टीका सम्पूर्ण भातृ संस्थाहरुले समेत विज्ञप्ति जारी गर्दै रिहाईको माग गरेका छन् ।

माओवादी नेता ढुंगेललाई मंगलबार राजधानीको सातदोबाटोबाट सादा पोसाक लगाएका सीआइबीका प्रहरीले पक्राउ गरेका थिए ।

पक्राउ गरेको केही समयपछि उनलाई बबरमहलमा रहेकोे फैसला कार्यान्वयन निर्देशनालयमा लगिएको थियो । त्यहाँबाट उनलाई थुनुवा पूर्जी थमाएर काठमाडौंका डिल्ली बजारमा रहेको सदरखोर जेलमा राखिएको छ ।

उनलाई द्वन्द्वकालिन मुद्दामा दोषी करार गरी सर्वोच्चले २०६६ सालमा सर्वस्वसहित जन्मकैदका सजाय सुनाएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!