पार्टीको जन्मस्थान पुगेर सीसहित चिनियाँ नेताहरुले खाए शपथ

बेइजिङ, कार्तिक १५ । चिनियाँ राष्ट्रपति सी जिनपिङसहित कम्युनिष्ट पार्टीका नवनिर्वाचित सात स्थायी समिति सदस्यले सांघाइस्थित पार्टीको जन्मस्थल भ्रमण गरेका छन्।

करिब ९६ वर्षअघि सन् १९२१ को जुलाईमा माओ त्सेतुङसहित १२ प्रतिनिधि भेला भएर पहिलो राष्ट्रिय सम्मेलन गरेको स्थानमा चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरु पुगेका हुन्। त्यसबेला चिनियाँ कम्युनिष्ट पार्टीमा मात्र ५७ सदस्य थिए। हाल सो पार्टीमा करिब ९ करोड सदस्य छन्।

सीसहित चिनियाँ नेताहरु मंगलबार बेइजिङबाट निजी जेटमा सांघाइ पुगेका थिए ।

खैरो इँटाबाट निर्मित सो भवनमा पार्टीका संस्थापक नेताहरुको सालिक राखिएको छ। त्यही भवनमा स्थायी समिति सदस्यहरुले सपथ पनि खाएका थिए। उनीहरुले पार्टीका लागि सबथोक त्याग्ने सपथ लिएका थिए।

‘कम्युनिष्ट पार्टी यहीँ जन्मेको थियो। यो पार्टीको जरा हो,’ सीले भने, ‘गत ९६ वर्षमा जस्तोसुकै अवस्थामा पनि हाम्रो पार्टीले राष्ट्रको कायाकल्प गर्ने प्रणलाई कहिल्यै बदलेको छैन।’

त्यसपछि नेताहरुको समूहले झेजियाङ प्रान्तको जियासिङस्थित साउथ लेकको भ्रमण गरेको थियो।

सन् १९२१ मा कम्युनिष्ट पार्टीको अधिवेसन सांघाइमा सुरु भए पनि प्रहरी अवरोधका कारण प्रतिनिधिहरु झेजियाङमा एउटा डुंगामा भेला भएका थिए।

‘९६ वर्षअघि राष्ट्रको आशा बोकेको त्यो सानो रातो डुंगा आज सवा अर्ब चिनियाँहरुको आशा बोक्ने विशाल जहाज बनेको छ,’ सीले सो अवरमा भने । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!