न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरनजिकै आतंककारी आक्रमण

न्युयोर्क, कार्तिक १५ । न्युयोर्कमा वर्ल्ड ट्रेड सेन्टरनजिकै एक व्यक्तिले साइकलमार्गमा ट्रक दौडाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। लोअर म्यानहटनमा सेतो पिक अप ट्रकले साइकल यात्रीहरुलाई किच्ने एक २९ वर्षे व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी गिरफ्तार गरेको छ।

यो आतंककारी आक्रमण भएको र आक्रमणकारी सैफुल्लो सैपोव नामको व्यक्ति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्ति सन् २०१० मा आप्रवासीको रुपमा उज्वेकिस्तानबाट अमेरिका आएको बताइएको छ।

उनको ट्रकमा सुरक्षा अधिकारीहरुले अंग्रेजी भाषामा लेखिएको एक नोट फेला पारेको बताइएको छ, जसमा सो आक्रमण इस्लामिक स्टेटले गराएको उल्लेख छ। न्युयोर्कका मेयर बिल डे ब्लाजियोले आक्रमण कायरतापूर्ण भएको बताएका छन् ।

सैफुल्लो सैपोव

मंगलबार स्थानीय समयअनुसार ३ बजे सो आक्रमण भएको थियो। आक्रमणकारीले भाडाको ट्रक प्रयोग गरेको जनाइएको छ।

घाइते आक्रमणकारीलाई अस्पताल लगिएको छ।

आक्रमणबाट घटनास्थलमै ६ जनाको ज्यान गएको थियो भने दुई जनालाई अस्पतालमा मृत घोषित गरिएको थियो।

पैदलयात्री र साइकल यात्रीहरुलाई किच्दै अघि बढेको ट्रक एउटा स्कुल बसमा ठोक्किएपछि चालक बाहिर निस्केको र उसलाई प्रहरीले गोली हानी पक्रेको थियो।

आक्रमणमा प्रयोग गरिएको ट्रक

घटनालगत्तै ट्रकले किचिएका साइकल र यात्रुहरु सडकमा लडिरहेको दृश्य सञ्चारमाध्यमहरुले प्रकाशन–प्रसारण गरेका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!