आज विजयादशमी, टीकाको शुभ साईत ११.५५ मा

नेपालमा पञ्चांग निर्णायक समितिले यो वर्षको विजया दशमीको टीकाको साइत शनिबार मध्याह्न ११:५५ मा रहेको जनाएको छ।

मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। प्रतिपदाका दिन घटस्थापना गरी नवरात्रभरि शक्तिस्वरूपा भगवतीको आराधना गर्ने र दशमीको बिहान अपराजिता, जया, विजयाको पूजा गरी विर्सजन गर्ने विधान छ।

देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक गर्ने र प्रसादस्वप टिका र जमरा मान्यजनका हातबाट लगाउने चलन छ।रातोको अर्थ विजय वा उत्सव हो। निधारमा रातो अक्षताको टिकाले खुशी वा उल्लासको अवस्था जनाउँछ।

जौका जमरामा रहेका अनेक औषधीय गुणका कारण प्रसादस्वरूप कान वा शिरमा सिउरिने गरिएको हो।

देवीभागवत पुराणका अनुसार त्रेतायुगमा भगवान् रामचन्द्रले नवरात्रमा देवीको आराधना गरी रावणमाथि विजय प्राप्त गरेका थिए। दशमीका दिन पूजा विसर्जन गरी देवीको प्रसाद लगाई विजययात्रामा निस्केको बताइन्छ। यसैले आश्विन शुक्ल दशमीलाई विजयादशमी भनिन्छ।

पहिले पहिले राजाहरू नवदुर्गाको प्रसाद ग्रहण गरी युद्धमा निस्किने गरेको इतिहास पाइन्छ। ज्योतिषीहरूले निकालेको साइतमा विजययात्रामा निस्किने परम्परा हो। सर्वसाधारणका लागि टीकाको साइत आवश्यक नपर्ने धर्मशास्त्रीहरू बताउँछन्।

नेपालमा पञ्चांग निर्णायक समितिले दशैंको साइत निकाल्ने गरेको छ। यो वर्षको विजया दशमीको टीकाको साइत शनिबार मध्याह्न ११:५५ मा रहेको समितिले जनाएको छ।

आश्विन शुक्ल पक्षका १० दिन अवधि नेपाल र नेपाली मूलका हिन्दुहरू रहेका स्थानमा दसैं र भारतमा दशहरा वा दुर्गापूजा नामले परिचित छ। भारतीयले दशमीको दिन विसर्जन गरी घडा सोही दिन नदीमा सेलाउँछन्। नेपाली मूलका हिन्दुहरूले भने पूर्णिमासम्म टीका प्रसाद लगाउँछन्। पूर्णिमाका दिन विसर्जन गर्छन्।

 

कमेन्ट गर्नुहोस्