सेवा अवरुद्ध हुँदा दुःख लागेको छ : स्वास्थ्यमन्त्री पोखरेल

महोत्तरी, असोज १३ । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आन्दोलनरत चिकित्सकका जायज माग पूरा गर्न सरकार तयार रहेको बताउदै आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन आग्रह गरेका छन् ।

नेपालीहरुको महान चाड दशैंको समयमा अस्पतालहरु बन्द हुँदा नागरिकको संवैधानिक अधिकार हनन भएको प्रति पनि मन्त्री पोखरेलले चिकित्सलाई सचेत गराएका छन ।

महोत्तरीको बर्दिवासमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दशैं जस्तो महत्वपूर्ण चाडमा नागरिकका लागि स्वास्थ्य सेवा अतिआवश्यक रहेको भन्दै चिकित्सकका माग पूरा गर्न आफू र सरकार प्रतिवद्ध रहेको बताए ।

मन्त्री पोखरेलले स्वास्थ्य सेवा अवरुद्ध भइरहँदा आफूलाई दुःख लागेको बताउदै अस्पताल बन्द र अवरोध गर्नु ठीक नभएको बताए ।शुक्रबार गृहनगर बर्दिवास आएका मन्त्री पोखरेलले आन्दोलनको कार्यक्रम फिर्ता लिएर वार्ता र संवादमा आउन समेत चिकित्सलाई आग्रह गरेका छन ।

मन्त्रिपरिषदको निर्णय र चिकित्सक संघ दुवैलाई सम्बोधन हुनेगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ र त्यसको आधारमा बनेको २०६९ को नियमावली परिस्कृत गर्न सरकार तयार रहेको उनले जानकारी गराए ।

चिकित्सक र स्वास्थ्यकर्मीहरु माथीको आक्रमणको घटनाले मनोबल घटाउने काम भैरहेकाले सरकार सुरक्षा प्रदान गर्न तयार रहेको उनले स्पष्ट पारे ।

सम्पूर्ण नेपालीहरुलाई दशैंको शुभकामना दिँदै उनले स्वास्थ्यको दृष्टिकोणले खानपिनमा विशेष ध्यान दिन समेत सुझाव दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!