३ वर्षीया तृष्णा काठमाडौंकी नयाँ कुमारी, मतिना ९ वर्षपछि घर फर्किइन

काठमाडौं, असोज १३ । काठमाडौं ओमबहालकी तीन वर्षीया तृष्णा शाक्यलाई बिहीबार नयाँ कुमारीलाई कुमारी घरमा भित्र्याइएको छ ।

तृष्णालाई बिहीबार मध्याह्न १२ बजेको शुभसाइतमा हनुमानढोकास्थित कुमारी घरमा रहेको कुमारी सिंहासनमा विराजमान गरायो। त्यसअघि कुमारीलाई हनुमानढोकाको मूलचोक लगिएको थियो।

नयाँ कुमारीलाई आज नवमीको दिन वर्षमा एक दिन मात्रै खुल्ने तलेजु भवानीको दर्शन गराइन्छ। पूर्ण तान्त्रिक विधिपूर्वक तलेजु भवानीको दर्शन र साक्षात्कार गराएपछि उनलाई पूर्ण रुपमा कुमारी देवीका रुपमा पूजा गरिन्छ।

तलेजु भवानीको जीवित रुप नै कुमारी हो भन्ने मान्यताअनुसार पहिला कुमारीलाई तलेजुको प्रत्यक्ष दर्शन गराइएको हो। तलेजु भवानीको दर्शन गराउन कुमारीलाई कुमारीघरबाट पैदल हिँडाएर लग्ने गरिन्छ। त्यसपछि कुमारीलाई हिँडाउने चलन छैन।

नयाँ कुमारी मञ्जुश्री नक महाविहारका विजयरत्न शाक्य र श्रृजना शाक्यकी छोरी हुन्। चार जना मध्येबाट राष्ट्र अनुकूलको योगअनुसार तृष्णा शाक्यको कुण्डली मिलेकाले उनलाई छनोट गरिएको गुठी संस्थानले जनाएको छ । कुमारी चयन गर्दा राष्ट्रअनुसार कुण्डली योग मिलाउने चलन छ।

तृष्णालाई तलेजु मन्दिरबाट पौने १२ बजे कुमारीघर ल्याउँदा यता राजकीय सम्मानका साथ मतिनाको विदाइ तयारी हुँदै थियो। नयाँ कुमारीको प्रवेशपछि मतिना शाक्यलाई करिब सवा १२ बजे कुमारीघरबाट निकालियो, बाजागाजा र पुरोहितका साथ।

उनी कुमारीघरको मूलढोकासम्म आफैं हिँडेर निस्केकी थिइन्। नौ वर्षपछि घर फिर्न लागेकी छोरी लिन उनका छिमेकी, स्कुलका साथीभाइ र आफन्तको घुइँचो थियो। देश–विदेशका संस्कृतिप्रेमी पनि समारोहको प्रत्यक्षदर्शी हुन झुम्मिएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!